इटहरी /  इटहरी उप महानगरपालिकाले सडकको धुलो पखाल्न ‘रोड वासर कम स्प्रिङकलर’ प्रयोगमा ल्याएको छ । पानी ट्याङ्कीबाट निस्कने पानीको फोहोराले सडकको धुलो पखाल्छ ।

सडकको किनारामा रोपिएका बिरुवामा पानी हाल्न र हिउँदमा धुलोले ढाकिएको बिरुवा पखाल्नसमेत यसको प्रयोग गरिने इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले बताए । उनले भने, ‘यो एउटा साधनले सडकको धुलो पखाल्ने, बिरुवामा पानी हाल्ने र धुलाम्य भएको बिरुवा पखाल्ने काम गर्छ ।’

उपमहानगरले सफा र हरियाली स्मार्ट सडकको अवयव भएको बताउँदै सहरलाई सफा बनाउन र हरियाली प्रवर्द्धनका लागि यो साधन खरिद गरेको मेयर पौडेलले बताए ।

इटहरी उपमहानगरले ६५ लाखमा ‘रोड वासर कम स्प्रिङकलर खरिद गरेको हो । मेयर पौडेलले रोड वासर कम स्प्रिङकारले सहरलाई सफा बनाउन र सुन्दर बनाउन सहयोग गर्ने बताए । उनले भने, ‘ उपमहानगरपालिकाभित्र आवश्यकताअनुसार समय तालिका बनाएर प्रयोगमा ल्याउँछौँ ।’ प्राविधिकहरूका अनुसार यसले आगलागीको वेला आगो निभाउन पनि सहयोग गर्नेछ ।