इटहरी । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती, कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि वर्षा भइरहेको छ।

पछिल्लो २४ घन्टामा झापामा भारी वर्षा भएको छ। झापाको अनारमनीमा १२७.४ मिलिमिटर वर्षा भएको छ। उदयपुरको सुन्दरपुरमा ११८.८, संखुवासभाको तुर्केघाटमा ९४.४, मिलिमिटर वर्षा भएको छ।  बुधबार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि साधारणतया बदली रहने छ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम र भारी वर्षाको सम्भावना रहेको छ।