इटहरी : इटहरीको फुटपाथ क्लियर गर्ने इटहरीका मेयर हेमकर्ण पौडेलले निर्देशन दिएका छन् ।
पछिल्लो समयमा अव्यवस्थित सवारी पार्किङ, निर्माण सामाग्री सडकमा थुपार्ने, ठूला व्यापारिक महलबाटै सडक पार्किङले इटहरी अस्तव्यस्त हुन थालेको भन्दै क्लियर गर्न निर्देशन दिएका हुन् ।
अहिले इटहरी चौकको मुख्यहाईवे देखि पूर्व तथा पश्चिमलाईनका सडकहरू व्यापारीहरूले कब्जा गरिरहेका छन् । निजी गाडी तथा व्यापारिक सवारी साधनले सडक कब्जा गरेको भन्दै तत्काल फुटपाथ खालि गर्ने लागिएको मेयर पौडेलको भनाई छ ।
मङ्गलवार आफै फुटपाथ क्लियर गराउँदै सडकमा निस्किएर पौडेलले निरन्तर अभियानमा लाग्ने बताए ।
मेयर पौडेल भन्छन् 'सडकहरू कब्जा नै जस्तै भएका छन् यात्रुहरू हिँड्नसम्म ठाउँ छैन इटहरी चौकमा, बारम्बार नराख्न पत्रचार गरे पनि अटेर गरे पछि आज केही फुटपाथको सामाग्री नियन्त्रणमा लिएका छौ ।' उनले फुटपाथको कारण दुर्घटनासमेत बढेको भन्दै तत्काल हटाउन निर्देशन समेत दिए ।
व्यापारीसँगै सटरवालालेसमेत पेटी नै ढाक्ने गरी बाहिर सामान बेच्न राखेपछि पैदल यात्रुलाई समस्या भएको गुनासो बढेकोले आफू अनुगमनमा निस्किएको मेयर पौडेलले बताएका छन् ।
यात्रुहरूलाई हिँड्न गाह्रो भएको विषयमा सर्वत्र गुनासो बढेपछि उपमहानगरले नगर प्रहरी, ट्राफिक प्रहरी, सुरक्षाकर्मी, उद्योगी व्यवसायीसहितको टोलीले सडक ‘क्लियर’ गरेको हो ।
पूर्वकै एक प्रमुख व्यापारिक केन्द्रका रूपमा विकसित बन्दै आएको इटहरी उपमहानगरपालिकाको बजार अस्तव्यस्त हुँदा इटहरीको स्वरूप नै बिग्रिएको उपमहानगरपालिकाको बुझाइ छ ।
इटहरीको मुख्य चोक तथा बजार क्षेत्रमा व्यापारीले सडक पेटीमा व्यापारिक सामाग्री र ठुला महलले प्राइभेट पार्किङ बनाउँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।
पैदल यात्रुलाई सास्ती
इटहरीको मुख्य चौक तथा आसपासमा हिँड्नसमेत सास्ती हुने गरेको छ । पछिल्लो समयमा अव्यवस्थित सवारी पार्किङ, निर्माण सामाग्री सडकमा थुपार्ने, व्यापारीहरूले सडकमै सामाग्री पर्दशन गर्दा अहिले इटहरी चौक कुरूप बन्दै गएको छ ।
पछिल्लो समयमा बढ्दो सवारी साधनको चाप, सडक क्षेत्रमा आवासीय क्षेत्रको विकास, पैदल यात्रु हिँड्ने छुट्टै व्यवस्था नहुनु, साइकल लेन नहुनु र जनसङ्ख्याको उच्च वृद्धिका कारण इटहरी सडक पैदल यात्रुका लागि बढी जोखिमपूर्ण बन्दै गएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका एसपी विनोद घिमिरेले पैदल यात्री हिँड्ने पेटी कब्जा गर्ने नदिने बताए । मुख्य बजार क्षेत्रमा सडकमा फुटपाथ पसल राख्दा दुर्घटनाको जोखिम हुने भएकाले हटाइने उनको भनाई थियो ।
उनले बजार क्षेत्रको सडक पेटीमा पसल राख्न बन्देज गरिएकोसमेत बताए । इटहरी चोकमा ट्राफिक व्यवस्थापन थप सुधार गरिँदै लैजाने भएको छ ।