झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स(दमक भ्यू टावर) विकासको नमूना भएको बताएका छन् । उनले नयाँ तरिकाको विकास कसरी गर्न सकिन्छ भन्ने नमुनाका रुपमा भ्यू टावरलाई लिन सकिने बताएका हुन् ।
बाक्लो जनसहभागितामा
एकसय मिटर अग्लो र १८ तले सो कम्प्लेक्सको आइतबार उदघाटन गर्दै प्रधानमन्त्री
ओलीले कम्प्लेक्स निर्माणबाट रोजगारी र पर्यटन वृद्धि हुने बताए ।
विश्वका ठुला मुलुकमा
पनि आर्थिक स्रोत र पहिचानको लागि यस्ता अग्ला भवन बनेको उदाहरण प्रस्तुत गर्दै
उनले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा पनि गरे ।
उनले आफूहरुले बलिदान
गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उदघोषण गर्दै देश चलाउने कुरा
अरुलाई गाली गरे जस्तो र सहकारी ठगीजस्तो नहुने पनि बताए ।
दमकको मुख्य बजार
क्षेत्रबाट चार किमी दूरीमा पर्ने कम्प्लेक्स रु एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार
लागतमा निर्माण भएको हो ।
कूल चार बिघा १६ कठ्ठा
क्षेत्रफलमा फैलिएको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका
रूपमा विकास गर्ने सरकारको अवधारणा छ ।
कार्यक्रममा प्रथम
महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं
सहरी विकासमन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी थिए ।