इटहरी : इटहरी उपमहानगरपालिकाले यहाँका सामुदायिक विद्यालयहरूलाई डेक्स बेन्च हस्तान्तरण गरेको छ । इटहरीका ३६ वटै सामुदायिक विद्यालयलाई तीन हजार आठ सय ६० थान डेक्स बेन्च हस्तान्तरण गरिएको हो ।
सामुदायिक विद्यालयहरूमा विद्यार्थीको आकर्षण बढाउने उदेश्यले शिक्षा सुधार कार्यक्रम अन्तरगत डेक्स बेन्च वितरण गरिएको मेयर हेमकर्ण पौडेलले बताए ।
‘थोत्रा डेक्स बेन्चमा बसेर पढ्ने विद्यार्थीका लागि आधुनिक डेक्स बेन्च दिएका छौँ,’ मेयर पौडेलले भने, ‘विद्यार्थीलाई पठनपाठनसँगै सामुदायिक विद्यालयमै आकर्षण बढाउनका निम्ति पनि डेक्स बेन्च हस्तान्तरण गरेका हौँ ।’
सोमबार इटहरी १ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा एक कार्यक्रम आयोजना गरी डेक्स बेन्च हस्तान्तरण गरिएको थियो । जसमा अन्य विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समितिका अध्यक्षहरू उपस्थित थिए ।
विद्यालयका पुरानो डेक्स बेन्चमा बस्दा लुगा च्यातिने, शरीरमा चोट लाग्ने गरेको भन्दै उपमहानगरले अत्याधुनिक डेक्स बेन्च हस्तान्तरण गर्दा शिक्षा सुधारमा सहज हुेन राष्ट्रिय माविका प्रधानाध्यापक सरनकुमार बस्नेतले बताए ।
उपमहानगरले केही दिनअघि मात्रै यहाँका सबै सामुदायिक विद्यालयमा विद्यालय नर्सिङ कार्यक्रमसमेत सुरू गरिसकेको छ ।