इटहरी : इटहरी उपमहानगरपालिकाका विभिन्न वडामा ६ महिनाको समयमा साढे चार हजार सडक बत्ती जडान गरिएको छ । उज्यालो अभियान अन्तर्गत विभिन्न गाउँ बस्तीमा साढे चार हजार सडक बत्ती जडान गरिएको हो ।
‘उज्यालो इटहरी’ अभियानअन्तर्गत उपमहानगरको विभिन्न चोक तथा मुख्य सडकसँगै विजुलीका पोलमा बत्ती जडान गरिएको उपमहानगरले जनाएको छ ।
गत असारमा इटहरी १ बाट सुरु भएको बत्ती जडान कार्य इटहरीको २० वटै वडामा पुगेको छ । स्वचालित सडक बत्ती जडान कार्य गरिएपछि इटहरीमा चोरीका घटनामा कमी आएकोसमेत दाबी गरिएको छ ।
बजार क्षेत्रमा पर्याप्त सडक बत्तीको व्यवस्था भएपछि उज्यालो हुँदा चोरीका घटनामा कमी आएको उपमहानगरको दाबी छ ।
सडक बत्ती रात पर्दा आफैँ बल्ने र उज्यालो हुँदा आफैँ बन्द हुने प्रविधिका रहेको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले बताए । मुख्य राजमार्गहरूमा एक सय वाटको र भित्री सडकहरूमा ५० वाटको बत्ती जडान गरिएको उनले बताए ।
इटहरीको जङ्गल आसपास हात्ती आतङ्कबाट हुने क्षति कम गर्न, सहरमा चोरी बढ्दै गएको अवस्थामा त्यसलाई न्यूनीकरण गर्ने हिसाबले पनि पोलैपिच्छे बत्ती जडानको काम भएको उनको भनाइ छ ।
५० वाटका चार हजार एक सय ७८ वटा र एक सय वाटका तीन सय ७८ वटा बत्ती जडान गरिएको उपमहानगरपालिकाको विद्युत् शाखा प्रमुख उमेश चौधरी बताउँछन् ।
वडाबाट माग भएअनुसार बत्ती वितरण गरिएको उनले बताए । चौधरीका अनुसार वडा १, २, ३, ४, ५ मा क्रमशः २४९, ३५०, २४५, ३०६ र २१९ वटा बत्ती जडान गरिएको छ ।
यसैगरी वडा नं. ६, ७, ८, ९, १०, ११, १२, १३, १४ र १५ मा क्रमशः ५०, २४९, २८०, २३०, १४५, १४३, १००, १६४, १२६ र ११३ वटा बत्ती जडान गरिएको छ ।
यसैगरी वडा नं. १६, १७, १८, १९ र २० मा क्रमशः २५०, २५०, १८२, २४३ र २६९ वटा बत्ती जडान गरिएको उपमहानगरको तथ्यांकमा उल्लेख छ ।
विराटनगरको केडिया कन्स्ट्रक्सन हाउस नामक कम्पनीसँग एक करोड ३३ लाख रुपैयाँमा बत्ती खरिद गरेको उपमहानगरको तथ्यांकमा उल्लेख छ । बत्ती बिग्रिएको ठाउँमा जडान र मर्मतको काम समेत केडिया कन्स्ट्रक्सन कम्पनीले नै गर्दै आइरहेको चौधरीले बताए ।
यसरी जडान गरिएको बत्ती बिग्रिएमा दुई वर्षको वारेन्टी रहेको र वारेन्टीअनुसार खरिद गरिएको कम्पनीले बनाइदिने सहमति भएको उनको भनाइ छ ।
खासगरी हिउँदको समयमा इटहरीको वडा नं. २, १९ र २० मा हात्तीले प्रभावित पारेको र उज्यालो नभएको गुनासो आएको थियो ।
दिउँसोको समयमा हात्तीको बथान चारकोसे झाडीको जङ्गलमा गएर बस्ने र रात परेपछि बस्तीमा प्रवेश गरी घर भत्काउने र घरभित्र भण्डारण गरेर राखिएका अन्न खाने र मान्छेको ज्यानै लिने गरेपछि उपमहानगरले सडकमा बत्ती जडानको कार्यलाई तीव्रता दिएको जनाएको छ ।
इटहरीको तालतलैया, पानीपिया र शान्तिनगर क्षेत्रमा जङ्गली हात्तीको समूहले बस्तीमा वितण्डा मच्चाउन थालेपछि बस्तीहरूका स्थानीय बासिन्दाहरूले टर्च लाइटको व्यवस्था गरिदिन आग्रह गरेका थिए ।
विद्युत् जडान गरिएको ठाउँहरूमा हात्ती आएकोबारे थाहा हुने र सजग हुने इटहरी २० का वडा सदस्य तनुज गुरुङ (सुरेश)ले बताए ।
‘पहिला बत्ती नहुँदा हात्तीको बथान कता छन् भनेर थाहा हुन्थेन र मान्छेको ज्यानै पनि लिन सक्थ्यो,’ उनी भन्छन्, ‘अहिले बत्तीको व्यवस्था भएपछि हात्ती आएमा रातको समयमा सुरक्षित स्थानतर्फ जान सजिलो हुन्छ ।’
पालिकाका स्थानीयलाई रातिको समयमा हिँडडुल गर्न र हात्तीबाट बच्न सहज होस् भन्ने उद्देश्यले अभियान सुरू गरिएको उनको भनाइ छ ।
‘बजार क्षेत्रमा पर्याप्त सडक बत्तीको व्यवस्था नहुँदा चोरीका घटना नियन्त्रण गर्न विगतमा निकै चुनौती थियो । घर तथा सडकमा जडान गरिएका सिसी क्यामराले पनि अध्यारोमा चोर पहिचान गर्न समस्या हुन्थ्यो, अहिले उज्यालो भएसँगै चोरीका घटनामा पनि कमी भएको छ । चोरी भएमा उज्यालोमा चोरी गर्ने व्यक्तिको पहिचान सिसी क्यामरामा कैद हुने र चोरी गर्ने पहिचानमा समस्या हुँदैन,’ वडा सदस्य गुरुङले भने ।
खासगरी रातको समयमा हिँडडुल गर्दा कुकुरको टोकाइबाट पनि धेरैजना घाइते भएको उदृत गर्दै उनले अहिले सडक बत्तीका कारण सहज भएको उनको भनाइ छ ।
‘बत्तीको व्यवस्थाले बजार क्षेत्रमा सहज रूपमा निर्धक्कसँग हिँड्न पाइएको छ । सर्प तथा कुकुरको डर हटेको छ,’ इटहरी २० का स्थानीय ओनर ढकाल भन्छन्, ‘झलमल्ल बल्ने बत्तीले बजारको सौन्दर्यता बढाउनुका साथै सवारीसाधन दुर्घटनाका घटनामा पनि न्यूनीकरण हुने विश्वास गर्न सकिन्छ ।’