इटहरी: प्रिमा ग्यास उद्योगले विभिन्न कारणले गुणस्तरहीन बन्न पुगेका करिब ७ सय सिलिन्डर नष्ट गरेको छ । भान्सामा प्रयोग गरिने अति नै प्रज्वलनशील एल पी ग्यासका आफ्ना उपभोक्ताहरूलाई सुरक्षित बनाउने उद्देश्यले गुणस्तरहीन तथा पुराना सिलिन्डर नष्ट गरिएको हो ।
एभरेस्ट ग्यास समूह अन्तर्गत सुनसरीको इटहरीमा सञ्चालनमा रहेको प्रिमा ग्यास उद्योगले प्रयोग गर्न जोखिमपूर्ण अवस्थामा पुगेका ६ सय ९० थान एलपि ग्यास सिलिन्डर नष्ट गरिएको प्रिमा उद्योगका सञ्चालक सुदिप अधिकारीले जानकारी दिए ।
उनले म्याद गुज्रिएका, प्वाल परेका , हाइडे टेष्टमा फेल भएका सिलिन्डरहरू नष्ट गर्ने एभरेस्ट ग्यास समूहको अन्तर्गतका उद्योगहरूको नीति अनुसार नष्ट गरिएको बताए ।
उनले आफ्नो कम्पनीका ग्यास उद्योगका ३ लाख उपभोक्ता रहेको बत्ताउँदै उपभोक्ताहरूको सुरक्षालाई मध्यनजर गर्दै गुणस्तरहीन ग्यास सिलिन्डर नष्ट गरिएको बताए ।
घरेलु तथा साना उद्योग कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय , जनप्रतिनिधि , प्रहरी प्रशासन लगायतका प्रतिनिधिहरूको रोहोवरमा प्रिमा ग्यास उद्योगले गुणस्तरहीन एलपि ग्यास सिलिन्डर नष्ट गरेको हो ।
तपाईको प्रतिक्रिया दिनुहोस्