काठमाडौं । भारतले नेपाललाई दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप लिएर भारतबाट नेपालतर्फ उडेको एयर इन्डियाको जहाज नेपाल प्रवेश गरेको छ ।
फ्लाईट राडारले दिएको जानकारी अनुसार एयर इन्डियाको एअरबस A321-211 कल साईनको विमान 11:43 मिनेट जाँदा नेपाल प्रवेश गरेको संकेत फ्लाईट राडारले देखाएको हो ।
आज बिहान ९: १८ बजे एक ट्वीट गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालका लागि १० लाख डोज खोप लिएर भारतबाट जहाज उडेको जानकारी दिँदै केहि तस्वीर पोष्ट गरेका थिए ।
भारतले नेपालसहित विभिन्न छिमेकी मुलुकलाई कोरोना विरुद्धको खोप अनुदानको रुपमा उपलब्ध गराउने घोषणा गरेको थियो ।
हिजो (बुधवार) स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेयश त्रिपाठीले भारतले नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप उपलब्ध गराउने जानकारी गराएका थिए ।
स्वास्थ्यमन्त्री त्रिपाठीले नेपालमा खोप व्यवस्थापनका लागि सम्पूर्ण तयारीहरु पूरा भएको र प्राथमिकताका आधारमा उपलब्ध गराउने जानकारी दिए ।
उक्त कार्यकममा नेपालका लागि भारतका लागि नेपालका राजदूत विनयमोहन क्वात्रा लगायत उच्च अधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।
एयर इन्डियाबाट नेपाल आइपुग्ने कोरोनाविरुघको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान ल्याण्ड हुनेबित्तिकै हस्तान्तरण कार्यक्रम सकेर सिधै टेकुस्थित केन्द्रीय खोप भण्डारणमा लगिनेछ ।
प्राप्त जानकारी अनुसार भारतीय राजदूत विनयमोहन क्वात्राले विमानस्थलबाटै स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्नेछन् । विमानस्थलबाट टेकुको केन्द्रीय खोप भण्डारणसम्म लैजान तापक्रम कायम गर्न मिल्ने उपकरणजडित दुईवटा ट्रक तयारी अवस्थामा राखिएको विमानस्थल स्रोतले जनाएको छ ।
नेपाल सरकारले कूल जनसंख्याको ७२ प्रतिशतलाई कोरोनाविरुद्धको खोप दिने लक्ष्य लिएको छ ।
सबैभन्दा पहिला कसलाई दिइन्छ रु भन्ने लोकपथको प्रश्नमा स्वास्थ्यमन्त्री त्रिपाठी भन्छन् स् खोप दिने सवालमा प्राथमिकता निर्धारण गरिएको छ ।उनका अनुसार
१. सरसफाइकर्मी
२. स्वास्थ्यकर्मी (स्वयंसेविकालाई पनि स्वास्थ्यकर्मीसँगै पहिलो चरणमै खोप लगाइने मन्त्रालयले जनाएको छ । देशभरि ५२ हजार महिला स्वयंसेविकासहित करिब ३ लाख स्वास्थ्यकर्मी रहेको मन्त्रालयको दाबी छ ।)
३. एम्बुलेन्स चालक
४. शव व्यवस्थापनमा खटिएकाहरु
५. सुरक्षाकर्मी
६. जोखिममा रहेकाहरुलाई पहिलो चरणमा खोप दिइन्छ ।
मन्त्री त्रिपाठीका अनुसार बाँकी रहेको खोप जोखिम रहेका अन्य जनसंख्यालाई दिइनेछ। बाँकी खोप खरिद प्रक्रिया पनि अब छिट्टै अगाडि बढाउने समेत उनले बताए। कूल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने नेपाल सरकारो तयारी छ। उनले थपे, ‘बाँकी रहेमा कोभिड १९ सँग संघर्ष गरेका अन्य योद्धाहरुलाई दिइनेछ । क्रमश सबैमा पहुँच पुर्याउनेछौँ ।’
सरकारले भारतले उपलब्ध गराएको खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पुर्याइसक्ने योजना पनि बनाएको छ । खोप लगाउने दिन भने तय हुन सकेको छैन । कुन प्रदेशमा कति खोप पठाउने भन्ने विवरण तयार नभएको बुझिएको छ ।
कोभिसिल्ड खोप कस्ता व्यक्तिले नलगाउने ?
नेपालमा पहिलो पटक आज (बिहिवार) आईपुग्दै गरेको ‘कोभिसिल्ड’ भ्याक्सीन कसले नलगाउने भन्ने प्रश्न पनि धेरैसँग छ । किनकी कोभिडविरुद्धको खोपको ‘साइड इफेक्ट’ देखिएका घटना पनि बाहिरिएका छन् ।
कोभिसिल्ड उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले भारतमा खोप लगाएका केही मानिसमा नकारात्मक असर देखिएका कारण केही खास अवस्थामा खोप नलगाउन आग्रह गरेको छ । नयाँ दिल्लीमा कोरोना भाइरसविरुद्धको खोप लगाएका ४ हजार ३ सय १९ जना मध्ये ५२ जनामा ‘साइड इफेक्ट’ देखिएको थियो।
.एलर्जीको समस्या भएका
.रोग प्रतिरोधात्मक क्षमता कम भएका
.गर्भवती
.ज्वरो आएका
.रगत पातलो बनाउने औषधि सेवन गरिरहेका व्यक्तिलाई खोप नलगाउन कम्पनीले सुझाव दिएको छ।
.गर्भधारणको योजना बनाइरहेका
.गर्भवती
.स्तनपान गराइरहेका महिला
कोरोनाको अन्य खोप लगाइरहेका व्यक्तिलाई पनि यो खोप नलगाउन कम्पनीले जारी गरेको फ्याक्ट सीटमा अनुरोध गरिएको छ ।
खोप लगाउनुअघि आफ्नो स्वास्थ्यस्थितिबारे चिकित्सकसँग सल्लाह लिन र खोपको पहिलो डोज लगाएपछि कुनै गम्भीर स्वास्थ्य समस्या देखिएमा दोस्रो डोज नलिन समेत कम्पनीले सूचित गरेको छ ।
नेपालको कोरोना अपडेट :
नेपालमा कूल कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ९७५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कूल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ६९३ रहेको छ ।
अहिलेसम्म नेपालमा २० लाख २६ हजार ७२६ वटा पीसीआर नमूना परीक्षण भएका छन् । हाल क्वारेन्टाइनमा रहनेको संख्या १७२ रहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्