काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि आगामी शनिबारसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा र हिमपात हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर पाकिस्तान तथा आसपासको क्षेत्र नजीक रहेको पश्चिमी न्यून चापीय प्रणाली बिहीबारबाट नेपाल प्रवेश गर्ने र सो प्रणालीका कारण बिहीबार देशका पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुनाका साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
विभागका अनुसार उक्त प्रणाली पूर्व सर्ने क्रममा शुक्रबार प्रदेश नं २ का केही स्थान र अन्य प्रदेशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ ।
सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।
मौसमविद्का अनुसार शनिबार रातिबाट क्रमिकरुपमा मौसममा सुधार हुने र तापक्रम वृद्धि भई गर्मी शुरु हुनेछ ।
तपाईको प्रतिक्रिया दिनुहोस्