एन्फा सुनसरीले छान्यो उमेर समूहका ३५ खेलाडी
- प्रकाशित मिति: माघ ३०, २०७७ / सञ्चारलय
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको अन्डर १३ उमेर समूहको खेलाडी छनौट अन्तर्गत सुनसरीबाट ३५ जना छानिएका छन् । अखिल नेपाल फुटबल सङ्घ एन्फा सुनसरीले इटहरी ९ स्थित जनता स्कुलको मैदानमा बिहीबार र शुक्रवार गरेको छनौट कार्यक्रमबाट ३५ जना अन्डर १३ खेलाडीहरू छानिएका हुन् । एन्फा सुनसरी अध्यक्ष केशव कार्कीका अनुसार १ सय २५ जनाको समूहबाट ३५ जना छनौट गरिएको हो । जिल्ला छनौटका लागि सहभागी भएका १ सय २५ जना खेलाडी धरान, इटहरी, दुहबी, इनरुवा र बराह क्षेत्रबाट छनौट भएर आकामध्येका हुन । जिल्लाबाट छनौट भएका ३५ जना खेलाडीले प्रदेश छनौटका लागि प्रतिस्पर्धा गर्न पाउने छन् ।
छनौटमा सहभागीहरूको जन्मदरताका साथै खेल प्रदर्शन हेरेर मात्र खेलाडी छनौट गरिएको एन्फा सुनसरीका प्रशिक्षक श्याम मानन्धरले बताए । अन्डर १३ मा सहभागी हुनको लागि २०६५ असोज १५ देखि २०६६ असोज १५ गतेभित्र जन्मिएको हुनुपर्ने प्रावधान थियो । सहभागीहरूलाई समूह समूह बनाएर प्रतिस्पर्धा गराइएको मानन्धरले जानकारी दिए ।
एन्फाले २०७८ साल देखी क्लबहरूसँग सहकार्य गरेर एकेडेमी सञ्चालन गर्ने भएको छ । ए डिभिजन क्लबहरूले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नको लागि ए।एफ।सी।लाइसेन्स लिनुपर्ने हुन्छ । लाइसेन्स प्राप्त गर्नको लागि एकेडेमी सञ्चालन गर्नुपर्ने मापदण्ड छ । त्यसैले एन्फाले क्षेत्र, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय छनौटबाट छानिएका उत्कृष्ट बाल खेलाडीहरू ती क्लबले सञ्चालन गर्ने एकेडेमीमा पठाउनका लागि खेलाडी छनौट थालिएको एन्फा सुनसरी अध्यक्ष केशव कार्कीले बताए । विभागीय टोली त्रिभुवन आर्मी, सशस्त्र र जनपथ प्रहरी र केही ए डिभिजन क्लबहरूले पनि एकेडेमी राख्ने तयारी गरेका छन् । ती एकेडेमीमा यो छनौट कार्यक्रमबाट छानिएका उत्कृष्ट खेलाडीहरू रहने छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस्