इटहरी / सुनसरीको इटहरी उप महानगरपालिकाले आत्मनिर्भर कार्यक्रम सञ्चालनमा ल्याएपछि इटहरीका महिलाहरु स्वरोजगार बन्दै गएका छन् । इटहरी उपमहानगरपालिकाले अघी सारेको आत्मनिर्भर कार्यक्रमद्धारा सञ्चालन भएको व्यवसायमा कम पढेका र आफ्नो लागि सानो खर्च गर्नुपर्दा पनि अरुको भर पर्नुपर्ने महिलाहरु सहभागी भएका हुन् ।
यो कार्यक्रम सञ्चालनमा आएपछि जिविकोपार्जनमा धेरै सहज भएको कार्यक्रममा सहभागी महिलाहरुले बताएका छन् । नगरपालिकाले उपमेयर आत्मनिर्भर कार्यक्रम अन्तर्गत पहिलो वर्ष १० लाख, दोस्रो वर्ष २० लाख, गत वर्ष र चालु आर्थिक वर्षमा २५, २५ लाख रुपैयाँ बजेट छुट्टाएको छ । जसमा कौशीखेती, बंगुरपालन, भुजिया उद्योग, दुनोट उद्योग, फुलखेती, गाइपालन, ढाका उद्योग लगाएतका व्यवसाय प्रवर्द्धन गरिरहेका महिलाहरु आत्मनिर्भर बन्ने बाटोमा छन् ।
४ वर्षदेखि सुरु भएको आत्मनिर्भर कार्यक्रममा इटहरीका करिब ३ सय भन्दा धेरै महिलाहरु उद्यमी बन्दै गएका छन् ।
आत्मनिर्भर कार्यक्रम अन्तर्गतको भुजिया उद्योगबाट मासिक ५० हजार कमाई
इटहरी उपमहानगपालिकाको वडा नम्बर २० धनपुरी टोलमा उपमेयर आत्मनिर्भर कार्यक्रम अन्तरर्गत पाँच जना महिलाहरुले भुजिया उद्योग सुरु गरेका छन् । झट्ट हेर्दा सानो झुप्रा जस्तो देखिन्छ, तर त्यही झुप्रोमा रहेको भुजिया उद्योगले पाँच जना महिलाहरुलाई स्वरोजगार बनाएको छ । विहानदेखि बेलुकासम्म खटेर भुजिया,निम्की, कुरमुरे,मटर र बदाम बनाउँछन् र इटहरी, तरहरा, धरान लगायतका बजारमा लगेर विक्री गर्छन् ।
पाँचजना महिला समुहको १० हजार रुपैंया र इटहरी उपमहानगरपालिकाको ३० हजार र वडा नम्बर २०को कार्यालयबाट १० हजार रुपैंया गरी जम्मा ५० हजारबाट यो व्यवसाय सुरु गरिएको हो । अहिले त्यहाँ करिब ४ लाख बराबरको व्यवसाय बनाउन सफल भएका छन् ।
मासिक ५० हजारसम्म कमाई हुने गरेको समुहकी महिला उद्यमी चन्दा बस्नेतले बताइन् । चारजना महिलाहरुले उत्पादन गर्ने प्याकिङ गर्ने गरेको र १ जना महिलाले बजारमा लगेर बेच्ने गरेको उद्योग समूहकी बजार प्रतिनिधी भद्रमाया गिरिले बताइन । उत्पादित वस्तुलाई सानो सानो प्याकेट बनाएर उनले बजारमा बिक्रि गर्ने गर्छिन ।
पछिल्लो समयमा त्यहाँ उत्पादित वस्तुको माग बढेसँगै उद्योगमै पसलेहरु पुग्ने गरेका छन् । पालिकाले यो कार्यक्रम ल्याएपछि त्यहाँका स्थानीय मात्र नभएर पालिकाभरीका महिलाहरु उद्यमी बन्ने आश राख्दै खुशि हुन थालेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस्