जुम्ला । जुम्लामा गत वर्षको भन्दा यस वर्ष स्याउ उत्पादनमा दोब्बर घटेको छ । यहाँको जुम्ली स्याउको बर्सै पिच्छे माग बढिरहँदा उत्पादनमा गिरावट आउन थालेपछि किसान निकै चिन्तित भएको स्याउ किसान महेन्द्र पाण्डेले बताए।
यस वर्ष रु १९ करोड बराबरको स्याउ जिल्लाबाहिर गएको जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कले जनाएको छ गत वर्ष यहाँबाट रु ३४ करोड बराबर स्याउको कारोवार भएको थियो ।
“गत वर्ष स्याउबाट दोब्बर आम्दानी भएको थियो”, वरिष्ठ कृषि अधिकृत खेमराज शाहीले भने, “यस वर्ष ह्वात्तै घट्यो, स्याउको क्षेत्रफल बढिरहेका बेला उत्पादन घट्नुले किसान मर्कामा छन् ।” उहाँका अनुसार गत वर्ष १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो तर यस वर्ष छ हजार दुई मेट्रिकटन मात्र स्याउ उत्पादन भएको छ । पछिल्लो समयमा यहाँका किसान स्याउ खेतीप्रति आकर्षित भए पनि उत्पादनमा भने हरेक वर्ष गिरावट भइरहेको कृषि विकास कार्यालय जुम्लाका कृषि प्राविधिकले बताएका छन्।
यहाँ विगत दुई-तीन वर्षयताकै स्याउ उत्पादन घटेको हो । बगैँचामा भाले जातको बिरुवा नहुनु,समयमा हिउँ नपर्नु, तालिमप्राप्त प्राविधिकबाट बिरुवा व्यवस्थापन नभएको कारणले स्याउ उत्पादनमा गिरावट आएको स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख नमराज सापकोटाले बताए । हचुवाको भरमा स्याउखेती गर्नाले पनि स्याउ नफलेको कृषि प्राविधिक बताउँछन् । “अन्य खेतिपातीको काम छाडेर स्याउखेती गरिरहेका छौँ तर सोचेको जस्तो उत्पादन हुन सकेको छैन”, स्याउ किसान नर रावलले भने ।
तपाईको प्रतिक्रिया दिनुहोस्