इटहरी । इटहरीको जनता बहुमुखी क्याम्पसका विद्यार्थी क्याम्पसले काेराेना महामारीको अवस्थामा विना आधार विद्यार्थीहरूको मासिक र प्रवेश शुल्क वृद्धि गरेको भन्दै शुल्क वृद्धि फिर्ता गर्न माग राख्दै विगत नौ दिन देखि क्याम्पस प्रशासन अगाडी धर्ना बसेका छन् ।
क्याम्पसले लिइँदै आएको मासिक शुल्क ७५० मा हाल बढाएर ८५० पुराएको र प्रवेश शुल्क २००० लिइँदै आएकोमा बढाएर ३२५० पुराएको र अन्य सेवा शुल्क सहित वार्षिक प्रति विद्यार्थी २९५० रुपैयाँको दरले शुल्क वृद्धि गरेको भन्दै शुल्क वृद्धि फिर्ता गर्न माग राख्दै विद्यार्थीहरू धर्ना बसेका हुन ।
आधार हीन शुल्क वृद्धि फिर्ता गर, विद्यार्थीको माग पुरा गर जस्ता नारा लेखिएका प्लेकार्ड सहित क्याम्पसका सबै विद्यार्थी संगठनका संयुक्त विद्यार्थीहरू धर्नामा रहेको र माग पुरा नभए दोस्रो चरणको कडा आन्दोलन गर्ने अखिल क्रान्तिकारी जनता बहुमुखी क्याम्पसका विद्यार्थी नेता अर्जुन पौडेलले जानकारी दिए । कोरोना कहरले अभिभावकको आर्थिक अवस्था खस्किएको बेला सबै निकायले सहुलियत दिनु पर्ने अवस्थामा झन् शैक्षिक क्षेत्रमा नै यस किसिमको शुल्क वृद्धि हुनु चिन्ता जनक विषय भएको भन्दै बेलैमा क्याम्पस प्रशासनले गल्ती सुधार्नु पर्नेमा पौडेलले जोड दिएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस्