हाम्रा बा ! को यात्रा:- विश्वास देखि अविश्वास सम्म

  • प्रकाशित मिति: बैशाख २७, २०७८ / हेमसागर तिम्सिना (सुमेरु)
alt हेमसागर तिम्सिना (सुमेरु)

कोकोहोलो मच्याउदै, सारा भूमण्डलको सातो उडाउँदै अलिक बारलाई सुस्ताएको जीवाणुको सन्त्रासदी: बर्षगाठ मनाए झैँ फेरि उदायो। पोहोर साल यसै बेला छेका ,बालुवाटारी फरमानी हुकुमले नेपाली भूगाेललाई एकै छिनमा र एकै दिनमा ठप्प हुने लकडाउन फर्मान भयो। त्यो बेला एका तर्फ विषाक्त जीवाणुको भय र अर्को तर्फ दैनिक रोजीरोटी गर्ने श्रमजीवीहरूको कारुणिक चित्कारले कम्पित भएको हाम्रो जन हृदय को रोदन इतिहास मै सायदै विस्मृत होला। थङथिलो भएको जीवनशैली,भताभुङ्ग भएको आर्थिक संरचना र लथालिङ्ग भएको शासन व्यवस्थालाई थिर थिरे नानी थिर थिरे को पारामा उभिँदै गरेको नवजीवनलयलाई फेरि नराम्रो चोट लागेको छ।विगत भन्दा बेरङ्गी रूपमा यस पाली को स्व: गृह कारावास (लकडाउन) देखा परेको छ, जसको उपनाम छ निषेधाज्ञा । अत्यावश्यक काम भन्दा घर बाहिर नजानु भन्ने बात नै ताज्जुबको छ।

खेती गर्न बेसी लेख गर्नै पर्‍यो, तलब बुझ्न अफिस जानै पर्‍यो, सृष्टि चलाउन बिहे गर्नै पर्‍यो, मन थमाउन पदार्थ पिय हान्नै पर्‍यो , यस्ता नाना गुथुरे कुरा सम्झी ल्याउदा मान्छेका सबै काम आफैमा अत्यावश्यक नै छन्। एक थोक गर्न अर्को थोक गर्नै पर्ने र अर्को थोकका लागि फलानो थोक गर्नै पर्ने । यही रीतिको थितिले निषेधाज्ञामा कालो पोतो लागैकै छ तर हामी भुईँ मनुष्यका कुरा अर्कै छ। मौजुदा सत्तासीन महाजनहरूका कामकाज, रवाफ, शैली हेर्दा लाग्छ हामी भुई मान्छे मात्र होइन अपितु पताल निवासी भई सक्यौ। हामी पताल निवासीले सोचेका थिम अब कोरोना बिस्तारै निस्ताएको छ, यो बेला सानेपा देखि धुम्बराही सम्म, बालुवाटार देखि शितलटार सम्म एक हुनेछन् र हाम्रा रोदनमा मलहम पट्टि लगाउन घोत्लिने छन्।

थङथिलो भएको देश र जनता को समग्र पाटो लाई सबलीकरण गर्न आवश्यक योजना बनाउन, बजेट जुटाउन र कार्यान्वयन गर्न देशका मुखिया बा ले गम्भीरताका साथ सोच्ने छन् । तर हरे! कुकुर पुच्छरिका। किन त्यसो हुन्थ्यो। बा को अमत्ताई भनौँ वा धुपौरेहरूको कु सल्लाहले भनौँ ।बालुवाटार यसरी कड्कियो कि, हाम्रो जनमतको सार्वभौम संस्था संसद् माथि जाई लाग्ने काम भयो। आफ्नै घरको किचलो मिलाउन , चिढिएका आफ्ना भाइ भारदार लाई सम्झाउन त कता हो कता। नरहे बाँस नबजे बाँसुरी भन्दै जङ्गेशैलिमा संसद् विगठनको उर्दि जारी भयो उता कठपुतली श्री महामहिम बाट बिना बिचारी लालमोहर लाग्यो।

आफ्नो संवैधानिक अधिकारको रक्षार्थ हामी पताल निवासी हरू भुईँमा निस्कन बाध्य भयौ र चर्को स्वर गर्न बाध्य भयौ। हाम्रा चर्को स्वरले भनौँ वा कानुनी शब्द जालले संसद् बौरियो। अब त बा को चेत खुल्यो होला भन्ने ठानेको त बा ले अर्को दाउ हात पारे "सबै बाम आ आफ्ना ठाम" । एमाले र माओवादी को कित्ताकाटको अदालती फैसलाले बा फेरि हौसिए। आफूले गरेको कृत्यको कुनै आधार नभएको र संविधान माथिको बल मिचाई भएको भन्ने पुष्टि भए पछि त लोक लाजले पनि राजीनामा दिनुपर्ने , बाटो खाली गरिदिनु पर्ने हो। तर किमंकिन्चित नैतिकता समेत नराखी बा उल्टै ठुला स्वरमा गर्जिए "हिम्मत भए हटाएर देखाओ"।

यो भन्दा ठुलो जग हसाई यो ब्रम्हाण्डमा हामीले सायदै देखेका थिम। छिमेकी मुलुक भारतमा कोरोनाले ताण्डव नाच्न थाली सकेको बेला हाम्रा बा लाई उक्त अदालती फैसला चिठ्ठा परे झैँ भो। एमाले बिउँतिए पछि अब कसो गरौँ ?  सरकार मा बहुमत नहुने भो, माओवादीले साथ छोडेका दिन कसो गर्ने ? भनेर आफ्ना पुराना सहयात्री सँग सर सल्लाह गर्नु पर्ने ठाउँमा हाम्रा बा लाई खै कता बाट के मसान जागेर हो जम्मै को हुर्मत लिने निधो गरे। हँ म हँ मिलाउने लाई च्याप्प च्याप्ने यसो फरक मत राखेमा ढोकै बाट बाइकट। क्या गज्जब ! सत्ताको मल्मली गलैँचा मा ढलिमली गर्दै आधा उधी बनेका संरचनाको धमाधम उद्घाटन गर्न भ्याई नभ्याई ।

यी सबै देख्दा कुनै बेला लाग्थ्यो गर्नेलाई भन्दा हेर्नेलाई लाज। यसैको लहैलहैमा धरहरा उभियो तर हामी नाथेहरूले त्याहा चढ्नलाई आधा साल कुर्नु पर्ने रे! लौ हाडे गाउँका जात्रे । नभन्दै दक्षिण छिमेक बाट विषाणुले सरहद पार गर्‍यो। पोहोर साल आफ्ना कुर्सीको चारै खुट्टा दह्रो हुँदा यसो उसो गरे जसो हाम्रा बा  ले धेर थोर त गरेका थिए यसपालि त बालै फरर।

पहिला आफ्नो कुर्सी बचाउ अभियान , दोस्रो आफ्नै भाइ भारदारलाई भित्तामा पुर्‍याऊ अभियान, तेस्रो आफ्ना धुपौरे,चमरे, डाङ्ग्रे ,चिम्टेहरूलाई ठाउँ ठाउँमा नियुक्ति तथा थमौती दिने अभियान , चौथो आफूले बोली पठाएको पाङ्दुरे चुनाउलाई एन प्रकाणेन गरी छाड्ने अभियान अरू थुप्रै यस्ता बेमौसमी निर्लज्जी कृत्य गर्न भ्याए भने, अनि बल्ल कोरोना रोकथाममा झारा टराई शैलीले काम गरेको देखियो। हाल न त पर्याप्त आइसोलेसन ,न त अस्पतालमा बेड, न त सिमानामा चेकजाँच , न त अक्सिजन ,न त औषधि मुलो, न त खोपको जोहो , न त रोजगारी गुमाएकाहरूलाई राहत सबै काम कुरो छोडेर हाम्रा बा लागे विश्वासको मत लिन त्यो पनि आफैले भत्काएको संसद्को पटाङ्गिनीमा। हे! लाजको पसारो।

नेकपा बनाएर ,आशाको खोलो बगाएर , विकासको नारा घन्काएर खाइपाइ आएको स्पष्ट बहुमत अपाच्य भए पछि हाम्रा बा को यो उल्टो पाइला चलाई बुझी नसक्नुको छ। पार्टी भित्र फरक मत कसको पो हुँदैन र , दरबार देखि घरबार सम्म त फरक मत हुन्छ। एउटै स्तनपान गरेका सन्तान त फरक फरक विचारमा हुनसक्छ भने यो त राजनैतिक संस्था न ठहरियो, अझ यसमा फरक मत हुने ,राजीनामा माग्ने ,खुट्टो तान्ने, पछि पार्ने, अघि जाने कुरो त पक्कै हुँदो नै हो। सलल बगेकी गंगा जस्तो खोजे हाम्रा बा ले, कुरो त्यही बिग्रेको हो ।

अझ बिरक्तिएको बात त के छ भने घर भाँडियो भनेर घर्मुलिले घरमा मात्र होइन अपितु गाउँ मै आगो लगाउने दुस्साहस गरे। संविधान कुल्चिए, प्रदेशहरूमा हुने नहुने गर्दै हप्ताको चार बारी मन्त्रीमण्डल फेर्ने देखि आँखामा पट्टि नै लाउनु पर्ने खाले अनेकौँ प्रहसन भयो।उता आफैले प्रतिबन्ध लगाउने अनि आफैले फकाएर फुकुवा गरेर बिप्लपका नाम मा आफ्ना ढुसी लागेका पिठो समेत बेच्न तम्सिए। जङ्गली,गुरिल्ला अनेकौँ उपनाम बाट रातो दिन धारे लगाउने पूर्व माओवादी लडाकुलाई (जनमुक्ति सेना) खाम खाम मा कोसेली बाडे झैँ अनेक आशाका पोको दिएर गोहीका आँसु पनि चुहिए।

चित्तै कुँडिने बात त झन् के छ भने खोप किन्दा पनि कमिसन रे! ह न हाम्रा बा का आसेपासे पनि कस्ताहरु कात्रो मा पनि कमिसन खाने । यस्ता द्रव्य पिचासलाई चिनेर हाम्रा बा ले ठिक लगाउनुको सट्टा अझ धाप मारी थम् थमाएको देख्दा त हामी नाथेहरूको पनि सिरी चढेर आउँछ । 

समग्रमा हाम्रा बा बुढा भए । अब यिनलाई चितवनमा राम मन्दिर बनाएर तिनै मन्दिरको पुजारी नियुक्ति गर्नुको विकल्प छैन। तर यसो भनी रहँदा अरू गिठ्ठे प्रसाद हरू चाहिँ दुधैलै नुहाएका भने होइनन्। तर यो बेला हामी नाथे पताल निवासिहरुले निक्कै बलिदान गरेर , पसिना रगत बगाएर ल्याएको यो परिवर्तन नै यिनले धरापमा हाल्ने भए।अलिअलि बचेको आशा पनि मरेर यो देश चरम निराशाको दलदलमा डुब्ने भो। बेथिति, शक्ति भक्ति र सत्ताको चरम दुरुपयोगको नयाँ रेकड बन्ने भो। कोरोना सोरोना गोली मारो भन्ने यिनको कार्यशैलीले शव पोल्ने ठाउँ को त अभाव भई सक्यो भने अलिक पछि शव पोलिदिने मान्छे पनि नभेट्टिने भो। यसरी ॠणात्मक भएको अर्थतन्त्रको सुइरो कहिले उकालो नलाग्ने भो ।

 यी र यस्ता कारण । "भो बा भो अब पुग्यो" । माननीयहरू मिति २०७८/०१/२८ को बिहानी बा को विकल्प सहित सके सम्म नयाँ पुस्तालाई पालो दिने गरी देशको नयाँ प्रधानमन्त्री को शिलान्यास होस नत्र हामी पताल निवासीहरू, भुईँ मनुष्य हुँदै,बिस्तारै सिंहदरबार भित्रै पस्ने दिन नआउला भन्न सकिन्न । यो कुरा सबैमा चेतना भया

तपाईको प्रतिक्रिया दिनुहोस्

सडक खन्ने क्रममा डोज ...

काठमाण्डौ / सडक खन्ने क्रममा डोजर पहिरोले पुर्दा दुई जना बेपत्ता भएका छन् । धादिङ जिल्लाको उत्तरी क् ...

बागलुङ बजारमा खानेपा ...

बाग्लुङ / सरकारले गरेको निषेधाज्ञाले घरमै बसेका बागलुङका नागरिकलाई खानेपानीको अभावले घरबाहिर ल्याउन ...

सेती नदीमा पानीको बह ...

बझाङ / सेती नदीले यहाँ खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानी ...

भारतमा कोरोनाको तेस् ...

काठमाडौं / ।भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने खतरा बढेको छ । दोस्रो लहरको सङ्क्रमण केही नियन्त्रण ...

विदेश भ्रमणका लागि २ ...

काठमाडौं / सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ् ...

एमाले विवाद सहमति नज ...

काठमाडौं / एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वा ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की