शङ्ख फुक्ने बेला सनै र सनै फुक्ने बेला शङ्ख

  • प्रकाशित मिति: जेठ ९, २०७८ / हेमसागर तिम्सिना (सुमेरु)
alt

मानिसहरू , महामारिको चेपुवामा चेप्टिएर हाँडा भाडामा भएका कनिका सामल चेपेर भोलिको छाक र भविष्यको उदेक लाग्दो बाटो सम्झिँदै यसो निदाएका थिए। कोही जनहरू भने, जे जसो भए पनि कोरोनारूपी बिषादिको बाछिटोबाट आज सम्म बाचिएको भन्दै र कोही जनहरू भने अस्पतालको शैयामा, आइसोलेसनको कैदमा, आईसियु को छ्टपटिमा अनि कोही भने भेन्टिलेटरको ढुकढुकीमा जीवनको जिजीविषा बचाउन भगीरथ यत्नमा थिए। कुरो मिति २०७८/०२/०७ गतेको हो। यस मध्यरातको लिलामयी सत्ताधारी सरकारी रासलीलाको कथन, भनी सक्नु र हेरि सक्नुको भएन। हाम्रो संविधानको मानमर्दन गर्ने कुरो त चरम उत्कर्षमा नै थियो तर आश्चर्य चकितमको बात त यो छ कि यति मध्यरात सम्म हाम्रा महामहिमहरूलाई निद्रा किन परेन र साँझमै ज्युनार गरी अरुबेला दुई निद्रा पूरा गर्ने हाम्रा सिंहासिनहरूको यो रातमा केको यस्तो खिचडी पाक्दैछ ? छक्क पर्नुको बात छ। अनेकौँ हत्तेको गुत्थो रहेको यो संविधानको धारा ७६ ले पनि दिनु दुख दिएको छ। अहिले त, उम्रे देखि खुम्रे सम्मकालाई कठस्थ भई सक्यो यो लन्ठो धारा ७६ । जे होस यहि धारा माथिको खण्ड पाखण्डले साँझ सुत्दा जीवित रहेको हाम्रो जनथलो संसद बिहान उठ्दा भेन्टिलेटरमा सिकिस्त पाइयो। त्यो रातको राजनैतिक रासलिला भोलि पल्ट बिहान उठ्दा बल्ल थाहा भो कि ! यो रासलिला रचाउने पनि अरू कोही होइनन् तिनै बालुवाटारका चौतारिया बा र शितलटारकि खोपीकी महामहिम रहेछन् ।

पानी नआउने यो धारा संविधानमा त्यतिकै लेखिएको होइन, यो त हामी दुखात्मा लुम्रे झुम्रेहरुले विगत ७० वर्षदेखि आफ्ना हातले आफूमाथि शासन गर्ने मूल कानुन लेखी छाड्ने सुन्दर सपनाका लागि बगाइएको रगत ,पसिना र आशुको मिश्रति घोलरूपी मसीले लेखिएको हो। यसको अक्षरशः पालना सबैका लागि अनिवार्य र निसर्त छ चाहे त्यो राजा होस चाहे त्यो रंक , चाहे त्यो बालुवाटारी मुखिया हुन चाहे त्यो शीतल निवासी खोपीका महामहिम । तर दुखको बात नै यही छ कि त्यो मध्यरात यसै माथि पाइताला राख्दै ता थैया ता थैया गर्दै भद्दा ,निर्लज्ज, र कलङ्कित रासलीलाको मञ्चन भयो। यो रासलिला गर्नु पूर्व भए गरेका केही उप-लिलाहरुको शृङ्खला पनि कमटिठ लाग्दो छैन। त्यो जेष्ठ ०७ गते पूर्व यो नेपाली थलाेमा भएका अनेकौँ राजनैतिक लीलाहरू हामी कोरोना प्रताडित जनहरूले मन नलागी नलागी हेर्न बाध्य भयौ, विवश भयौ ।

लीला नम्बर १ । हाम्रा चौतारिया बा लाई बाघे झाप्पु हान्दै अदालतले संसद् बौराई दिए पछि दिनको भोक र रातको निद्रा हराएकै थियो। बाहिर जति चुट्किला छाँटेर खित्खिताए पनि भित्र भित्रै मन अमिलो पारेर मुरमुरिएका थिए हाम्रा चौतारिया बा।
बालुवाटारको मल्मली बिछ्यौनामा समेत निद्रा पर्न छाडे पछि आफ्ना शण्ड मुशुण्डहरू सँगका अनेकौँ छलछामी योजनाको रूपरेखा कोर्दै हाम्रा बा फेरि मैदानमा उत्रिनु भो। लौ मलाई हटाउने भा हटाएर देखाओ, मैले संसदमा विश्वासको मत मागे भन्दै गज गर्जनमा एक्कासि बा प्रकट भए। ओहो ! त्यो दिन पनि कम चटक भएन। एकातिर मधेसी इतरका दल हरूमा रडाको मच्चिएको छ र अर्को तिर हाम्रा चौतारिया बा को आफ्नै दल भित्र चिढिएका आफ्नै भाइ भारदारको गोमन सर्पको फुङ्कार ध्वनि व्याप्त छ। त्यो भन्दा मन कुडुने कुरो त प्रत्येक २० मिनेटमा अक्सिजनको अभावमा एक नेपाली जीवात्माले प्राण पखेरु छोडी रहेका थिए कोरोनाका कारण । यसै बिच अनेक धूप धुवार चल्यो, सत्ताको मिठा मिठा चकलेट बाँडिए, कुर्सीको भेजा लगाइयो । कोही ठुस्के जस्तो गर्ने कोही फकाए जस्तो गर्ने , कोही खाऊ खाऊ जस्तो गर्ने कोही सरकारमा जाऊ जाऊ जस्तो गर्ने, कोही दिन भरी चौतारिया बा को वरिपरि नाच्ने कोही साँझमा भेट्ने । कोही पेरिस डाँडा ,कोही सानेपा ,कोही बुढानीलकण्ठ । ए दैवका लीला ! निषेधाज्ञाको धज्जितोड दौडधुपले नेपाल खाल्डो रोमाञ्चित भयो। हामीलाई भने कोठै भित्र बसेर यी सबै सुनी हेरि रहनुको विकल्प थिएन, टिभी खोले यही ,रेडियो बटारे यही दिक्दारी शैलीले हेरि रहेका नै थियौ । अन्त्यमा संसद्को जुम्लुङ्ग सुरु भो , सबैले आफ्ना मनको भडास पोखे, हाम्रा चौतारिया बा को अलिक बार उच्छट्ट काँडे तर दम्मको घोडसवार भएका हाम्रा बा ले ठाडै भने संसद् बचाउने भए मलाई विश्वासको मत देओ नत्र भने फेरि संसद्को अल्पायु मै निधन हुन्छ । तर आफ्नै भाइ भारदारको असहयोग र महन्थ ठाकुरको ठाकुरदारी मौनताले बा पच्छारिए तर किन हुन्थ्यो , आच्ची झन्डै लडेको भन्दै बा लागे अर्को खिचडी पकाउन, अर्को छलछामी तिक्डमको लीला मञ्चन गर्न । जे होस मलाई विश्वासको मत नदिएमा फेरि संसद् भंग गर्ने छु भन्ने चौतारिया बा को थर्काइले यिनका आसेपासे बाहेक कोही डराएनन् र अविश्वासको मतपत्रमा मोहोर ठोके । यसरी लीला नं १ को इति भयो।


लीला नम्बर २। कलेज पढ्दा खेरी देखिका साथी भाइ भएका, पछि देश र जनताको मुक्तिका लागि भनेर जनयुद्धमा होमिँदै , लामो सहयात्रा गरी सकेर घरी घरी छुट्टिँदै घरी घरी मिल्दै आएका राम बहादुर थापा उर्फ बादलले विगतको बाचा कसम भुल्दै, प्रचण्डलाई चटक्क छोडी सूर्यमा छाया पार्न हाम्रा चौतारिया बा को कित्तामा उभिए। बा को कित्तामा उभिँदै बा को बुई चढेर अनेक फुङ्कार लगाउदै विपक्षीलाई चिडियाखानामा हुल्ने छु सम्म भन्न भ्याए। यसरी आफ्ना समेत विपक्षीलाई थर्काएको देखेर हाम्रा चौतारिया बा गमक्क गम खादै सेकेन्ड गोकुल बास्तोलाको दर्जामा यिनैलाई थमौती गराउँदै मस्त थिए। त्यही बेला उता माओवादीले छेड हानेर राष्ट्रिय सभाको सदस्य चिप्लाई दिए पछि पनि चिन्ताको कोही बात नहि भन्दै फेरि उप निर्वाचनमा जिताउने भनी तामा तुलसी छोएर बाचा गरे। तर उप निर्वाचनले बालुवाटारमा खैलाबैला मच्चियो। हाम्रा चौतारिया बा एकोहोरो कराएका छन् लौ अब एमाले जति एक हुने अनि भर्खर आएका बादलका पछि हँ हँ माले गर्ने । सबै एमालेलाई एक ठाउँमा सिन्की खँदाई खाँदेर भए पनि एक भएको उद्घोष गर्न पाए हाम्रा बा लाई पुगेको थियो, पार्टी भित्र खास के भएर यस्तो अवस्था आएको हो ? आफूले कत्ती सच्चिनु पर्ने हो ? अरूलाई कत्ती सच्याउनु पर्ने हो ? बृहत् छलफलको लफडामा हाम्रा चौतारिया बा पर्न चहेनन । फलतस् उहीँ तिक्डमी खेलको पासा फ्याँक्दै एउटा बबुरो १० सदस्यीय पन्च भलादमिको झुन्ड रचना गरी सबैले पार्टीको एकतामा पहल गर्ने, पार्टीको हुईप वा आदेश जे जसो माथि बाट आउँछ अब उप्रान्त मान्ने मनाउने भनेर एउटा बिज्ञप्ति निकाल्न सफल भए। यसै विज्ञप्तिको सिरानी हालेर जोड घटाउ गर्दा मेरो बादल बर्षिने भो भनेर बा ढुक्क भए तर आफ्नै आँखा अगाडि विश्वासको मत नदिएका आफ्ना भाइ भारदारले यिन्को यत्तिको तिक्डमी खेललाई किन बुझ्दैन थिए , अझ त्यस माथि गोप्य मतदान। नभन्दै बादल त फाटे फाटे हाम्रा चौतारिया बा फेरि पच्छारिए । यसो उठ्न खोज्दै थिए बादलसँगै आएका ,तुवाले, असिने,हुस्सु, कुहिरो,लगायतका मन्त्रीहरूको समेत पद चैट हुने गरी अदालतको फैसलाको घन पनि यही बेला बज्रियो । त्यस पछि पनि बा ले उहीँ कथन कहे आच्ची झन्डै  लडेको । यसरी लीला नं २ को पनि इति भयो। यस्तो तुफानी राजनैतिक जग हसाई पनि हामीले चुपचाप हेर्नू पर्‍यो, खेप्नु पर्‍यो उता अक्सिजन अभाव , बडेको महँगी र रोजीरोटीवालाहरूको हृदय विदारक अवस्था प्रति हाम्रा बा ले लै बरी लै लै बरी लै मात्र गरेको पाइयो। यस्तो दशा त शत्रुलाई पनि नपरोस जुन आज नेपाली जनतालाई परेको छ।

लीला नम्बर ३। यता हाम्रा चौतारिया बा ले त्यो पर्दैन उता महामहिमको खित्का छोडाई । धतुरे पाराको शपत खादै ठुलो दलको नेताका हैसियतले बा फेरि चौतारिया बा भए। भएका दिन त अब पुरै ध्यान कोरोना रोकथाममा लगाउने भनेर गफ चुटे तर उहीँ कुकुरस् पुच्छरिका किन त्यसो हुन्थ्यो। बा लागे एन केन प्रकारेण संसद्को हुर्मत लिने खेलो मेलोमा। घुमिफिरी धारा ७६ मा फेरि कुरो अड्कियो। यसरी ठुला दल बाट चौतारियाको थमौती पाए पछि ३० दिने कर्मकाण्ड बाकी नै हुँदा खै कस्को उचलाई भनौँ वा बादल फाटेको , आफ्ना मन्त्रीहरू अदालतले चिप्लाई दिएको रन्थनाले हो हाम्रा चौतारिया बा ले अब ३० दिन भित्र विश्वासको मत नलिने भए । संविधानले लिनु पर्छ भनेर स्पष्ट रूपमा भैँसी जत्रा शब्दमा लेखेको कुरालाई ठाडै नमानी अर्को फन्डाको उदय गराए मार्ग प्रस्शतको । हे लफडा बाजिका नाईके ! आफै मार्गमा उन्मत्तेश्वर महादेव भएर तेर्सिने अनि आफैको एकोहोरो स्याल हुकाई छ मार्ग प्रस्शतको। न राजिनामा , न संसद बाट अविश्वासको निर्णय भएको छ आफू पनि चौतारिया कायमै भई रहेकै बेला लु अरू कोही छन् भने आउँदा भयो भनेर हाम्रा चौतारिया बा फेरि कड्किए । धमाधम आफ्ना मन्त्रीगण भेला पारेर धारा ७६ को उपधारा ४ लाई छलाङ मारेर चौतारिया बा ले बायुबेगमा निर्णय गरे। उता कति बेला हाम्रा बा को निर्णय आउँछ र त्यसलाई सदर गर्न लाल मोहोर बोकेर महामहिम ज्यु तमतयारी मुद्रामा। हुन त हाम्रा बा ले गरेका निर्णयमा आज सम्म महामहिमले कैले पो सोची बिचारी गरेको हो र, यसपालि त झन् पुरानै सल्लाह अनुसारको काम जो ठहरियो, आँखा चिम्लेर लाल मोहर लाग्यो। जम्मा २१ घण्टाको समय दिएर जो सुकै सांसदले पनि चौतारियाको दाबी पेस गर्ने चटारोको जाँतो आफ्ना विपक्षीका टाउकोमा हाल्न बा सफल भए । यसरी नखाउ त दिन भरिको सिकार खाऊ भने काका बाउको अनुहार भने झै विपक्षीलाई  निल्नु न उकल्नु भयो। असंवैधानिक भन्दै हल्का फुल्का विरोध गर्दै आफू पनि चैतारिया हुने दाबी पेस गरे। यता हाम्रा चौतारिया बा ले पनि किन छोड्थे, मलाई विश्वासको मत मिल्दैन भनेर मैले उपधारा ४ को लफडा नबेहोर्ने भए भनेर सारा पत्रकार भेला पारी जग हँसाइ गरेको अलिक बारमा १५३ सांसदको समर्थन रहेको भनी बा फेरि पुगे महामहिमको खोपीको पटाङ्गिनीमा। हरे ! आफुलाई १५३ जानाको समर्थन भए त संसद् डाकेर त्यसैको बलमा चौतारिया हुँदा भई गो त । यो प्रश्न कसले सोध्ने हाम्रा बा लाई । जे होस दिन भरिको यस्ता उप-लीलाहरू मञ्चन हुँदै थिए ।हामी भाइरस पीडितहरू चाहिँ यिनै लीला हेर्दै कोठा भित्रैबाट थोरै भए पनि मनोरञ्जन लिई रहेका थियौ तर मध्यरातमा यस्तो रासलिला भो हाम्रो भू-तलमा यस्को साई सुक्यो कतै हुन पाएन। बिहान आँखाका कचेरा फाल्दै उठ्दा त हामी जनताको जनआवाजको थलो छैन पो अरे ! कसैको दाबी नपुग्ने भो भनेर हाम्रो शितलटार निवासी महामहिम त ज्योतिषी पनि पो हुनु भएछ। न सांसदहरू सँग सोधनी भाको छ, न त संसद् बसेरै यसको छिनोफानो भएको छ। महामहीको कुन ब्रम्हले कता बाट के फुरेर हो संसद्को घाँटी फेरि थिचियो। त्यो पनि मशान खेल्ने बेलामा , मध्यरातको रासलिला यसरी रचियो। हामी त्यसै त यो रुढी र महामारीले दुखित भएका जनहरू हाम्रा चौतारिया बा र प्रमुख चौतारिया आमाको यस्तो राजनैतिक रासलीलाले झन् मर्माहत भयौ।

यी र यस्ता तिक्डमी चालबाजमा मन्द मस्त ओली एन्ड कम्पनीलाई यो कोरोनाको कुनै खास मतलब छैन। इतिहास मै कहीँ कतै नभएको राजनैतिक हर्कत गरेर हामी नेपालीले देखेको एउटा सुन्दर नेपालको सपना आज चकनाचुर भएको छ। ओली एन्ड कम्पनीलाई अब बिदा गर्नुको विकल्प छैन। नागरिकहरूको जीवन रक्षा , देश भित्र सहकार्य र सहमतिको वातावरण बनाउन र सबैलाई समेटेर सुन्दर देश बनाउनु पर्ने हाम्रो मुलुकको आजको आवश्यकता प्रति थोरै पनि संवेदनशील नभएको यो वर्तमान सरकारको बहिर्गमन आजको प्रमुख आवश्यकता भई सकेको छ। हुन त अरू विपक्षीहरू पनि उहीँ ड्याङका मुला नै हुन तर यति साह्रो सत्तालिप्सा र यस्तो नैतिकताहिन हुन सायद अब यिनलाई जनताले छुट दिने वाला छैनन् । ओली एन्ड कम्पनीको कर्तुतको फेहरिस्त यहाँ लेखेर न त लेख्न सकिन्छ बस जनताले यत्ति चाहिँ भनी सकेका छन् हाम्रा चौतारिया बा, अब बालकोट जानुहोस्। अर्को तर्फ यसरी नाङ्गो आँखा बाट पनि स्पष्ट देख्न सकिने ,संविधान माथिको बल मिच्चाईलाई हाम्रो न्याय मन्दिर अदालतले के गर्छ र भन्ने प्रश्न छ। हामिलाई बिस्वस्नियता छ हाम्रो अदालत प्रति , शैशव अवस्थाको गणतन्त्रलाई पक्कै मर्न दिने छैन। वर्तमान समयमा जुन तरिका र पाङ्दुरे शैलीले चुनावको घोषणा भएको छ यो आज देशको किमार्थ आवश्यकता होइन । आजको आवश्यकता भनेको सबै शक्तिहरू एक ठाउँमा उभिएर कोरोना विरुद्ध लड्ने र संविधानको संरक्षण गर्दै अघि बढ्नु हो। जुन काम कुरो ओली एन्ड कम्पनीबाट कुनै हालतमा सम्भावना छैन। दम्भ र सत्ताको अहम्मा मैमत्त भएका बाट कुनै पनि सङ्कटको समाधान हुँदैन अपितु त्यो झन् गहिरिँदै जान्छ। यो बेला विपक्षीहरूको मुख मात्र ताकेर सम्भव छैन यो असंवैधानिक र अराजकता युक्त रहेर सत्तारूढ गतिविधिलाई परास्त पार्न आम नागरिक नै उठ्नु र बोल्नु पर्ने समयले मागेको छ। जनतालाई कोरोनाको त्रास भित्र निषेधाज्ञामा गुम्साएर मनपरी गर्ने सत्ताका नाइके र चाटुकारहरूको एक एक हिसाब गर्ने बेला आएको छ।


सत्ता शक्तिको आडमा अनेक तिकडम मच्चाउँदै आफै बाट स्व घोषित चुनाव जसरी पनि जित्ने भन्ने दिवास्वप्न देखेर मुलुकलाई एकताबद्ध बनाउनु पर्ने ठाउँमा मुठभेडको दिशा तर्फ लाने ओली एन्ड कम्पनीको सर्वथा विरोध गर्नु पर्ने हाम्रो बाध्यता भएको छ।
कथम् कदाचित अदालतले यो निर्णय उल्टाएन भने र पाङ्दुरे असंवैधानिक चुनाव भयो भने म त भोट हाल्न जाने छैन। किनकि यस्ता तिक्डमी ढङ्गबाट हुने चुनावमा जन सहभागिता भयो भने बुढी मरि भन्दा पनि काल पल्किएको कुरो सिद्ध हुनेछ जुन नेपाली लोकतान्त्रिक व्यवस्था माथिको कालो कलङ्क र ग्रहण सिवाय अरू केही हुन्न। तसर्थ अदालतले निस्पक्ष फैसला त गर्ला नै तर अदालतले पनि तातो पानी नलगाएमा शङ्ख फुक्ने बेला सनै र सनै फुक्ने बेला शङ्ख फुके जस्तो बेमौसमी चुनावमा नत कसैका लागि भोट मागिन्छ न त आफै भोट हाल्न गइन्छ । कुरो क्लियर छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

ताप्लेजुङमा ट्याक्टर ...

ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टरको ठक्करबाट एक पदैल यात्रीको मृत्यु भएको छ । ताप्लेजुङको सिरिजंघा ग ...

अमेरिका पुगेर परराष् ...

काठमाण्डौ । राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका परराष्ट्रमन्त्री नारायण खड्काले एमस ...

सुनसरीमा करेन्ट लागे ...

इटहरी । सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका ९ का ५५ बर्षीय ...

टी-२० मा १० हजार रन ...

एजेन्सी । भारतका कप्तान बिराट कोहलीले दुबैमा जारी इन्डियन प्रिमियर लिगमा १० हजार रन पुरा गरेका छन्। ...

प्रधानमन्त्री देउवाल ...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक आज (सोमबार) अपरान्ह ...

३०० रुपैयाँले बढ्यो ...

काठमाण्डौ । सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की