इटहरी/ इटहरी उपमहानगरले १० हजार विपन्न र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने नागरिकका लागि राहत वितरण गर्न वडाहरूमा खाद्य सामग्री पठाउन थालेको छ ।
वडा नम्बर १,२,५,९,१३,१४,१५,१६,१७,र १८ मा खाद्यसामग्री पठाइएको नगरप्रमुख द्वारिकालाल चौधरीले बताउनुभयो । सम्बन्धित वडा मार्फत वितरण गर्न वडाध्यक्षहरूलाई राहत सामग्री बुझाइएको हो ।
कोरोना भाइरसका कारण देश लक डाउनका कारण इटहरीमा भोकमरीको अवस्था आउन नदिन हाललाइ एक हप्तालाई पुग्ने राहत वितरण थालिएको प्रमुख चौधरीले बताउनुभयो ।
आइतबार मेयरकै सक्रियतामा वडा नम्बर १ र १७ को मुसहर वस्तिका विपन्न नागरिकलाई खाद्य सामग्री वितरण सुरु गरिएको थियो । पहिलो दिन भएकाले राहत लिन आउनेको भिड नियन्त्रण गर्न मुस्किल भयो सबै जना लाइन लाग्न पुगेका थिए । यस घटनालाई दोहोरिन नदिन अब सतर्कता अपनाइने र अनर्गल प्रचार नगरिदिन चौधरीले आग्रह गर्नुभयो ।
इटहरी उपमहानगरले प्रत्येक वडामा चार चार लाख बराबरको राहत वितरण गर्ने निर्णय अनुसार राहत वितरण थालिएको हो ।वडाको सिफारिस अनुरूप विपन्न र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने नागरिकको लगत सङ्कलन गरी राहत वितरण गरिने छ ।
यसैबिच इटहरी उपमहानगरले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा सहयोगका लागि आग्रह गरेको छ । नेपाल बैक इटहरीमा रहेको कोषको खाता नम्बर ०५९०३००००००००५००४०० मा रकम सहयोगका लागि इच्छुक व्यक्ति तथा संघसस्थाहरुलाई उपमहानगरले आग्रह गरेको हो ।
तपाईको प्रतिक्रिया दिनुहोस्