इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम र कोरोना नियन्त्रण तथा रोकथाम उपसमिति संयोजक वडा नम्बर ९ का वडाध्यक्ष भूपेन्द्र बराल जब इटहरी रङ्गशालाको आइसोलेसन पुगे, २१ जना कोरोना सङ्क्रमित खाली निधार लिएर बसेका थिए । विजयादशमीको दिन सबैको अनुहार मलिन थियो ।
उपमेयर गौतमको टोलीले रातो टिका, पहेँलो जमरा र मिठाई लिएर पुग्दा सबैको मुहार हँसिलो देखिएको थियो । यो वर्षको दसैंलाई माया मारी सकेका संक्रमितले रातो टिका र पहेंलो जमरा लगाउन पाउँदा सबै खुसी भएका थिए । आइसोलेसनमा रहेका सङ्क्रमितहरूले संयुक्त रूपमा विजया दशमीको टिका लगाएका थिए । आइसोलेसनमा रहेकी एक जना ७८ वर्षिया आमाले सबै सङ्क्रमितहरूलाई टिका लगाइ दिइन् । उनले अबदेखि यस्तो अवस्थामा कहिल्यै पनि टीका लगाउनु नपरोस् भन्ने आर्सीवाद दिएकी थिइन् ।
टीकाको दिन उपमेयर आउँदा आमा आएको जस्तो लागेको सङ्क्रमितहरूले बताए । परिवारबाट छुटेर बस्नुपर्दा नराम्रो लागिरहेको वेला दसैँ ल्याइदिएको भन्दै सङ्क्रमितहरूले धन्यवाद ज्ञापन गरे । आइसोलेसनमै भए पनि टिका लगाउन पाउँदा सङ्क्रमितहरूले खुसी व्यक्त गरेका छन् । दसैँ जस्तो चाडका वेला पनि आइसोलेसनमा बस्नुपर्दा सङ्क्रमितहरूले दुःख मानेका होलान् भनेर शुभकामना र सान्त्वना प्रदान गर्न टीका,जमरा लिएर आइसोलेसन गएको उपमेयर गौतमले बताइन् ।
त्यस्तै उपमेयर गौतमले आफ्नै खर्चमा आइसोलेसनमा रहेका सङ्क्रमितका लागि ५ केजी खसीको मासुको समेत किनेर दिएकी छिन् । आइसोलेसनमा २१ जना सङ्क्रमित छन् । यसअघि उपमेयर गौतमले आइसोलेसनमा रहेका सङ्क्रमितहरू सँग आफ्नो जन्मदिन समेत मनाएकी थिइन् ।
तपाईको प्रतिक्रिया दिनुहोस्