काठमाडौं । इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी ९ जना नेपाली घाइते भएका छन् । 

इजरायलको गाजा क्षेत्रनजिकै शनिबार बिहानदेखि शुरू भएको इजरायली सेना र हमासको लडाइँको क्रममा नेपाली नागरिकहरू कार्यरत रहेको कृषि फर्ममा आक्रमण हुँदा त्यहाँ कार्यरत नेपालीहरू घाइते भएको बताइएको छ ।

इजरायलस्थित नेपाली दूतावासका उपनियोग प्रमुख एवं प्रवक्ता अर्जुन घिमिरेका अनुसार नेपाल र इजरायलबीच भएको सरकार–सरकारबीच सम्झौताअनुसार कृषि क्षेत्रमा काम गर्न गएका नेपालीहरू आक्रमणमा परेका हुन् । उहाँले घाइतेका बारेमा यकिन जानकारी लिने प्रयास भइरहेको बताउनुभएको छ । दक्षिणी इजरायलको अलुमिन किबुजस्थित एक कृषि फार्ममा कार्यरत ती घाइते नेपालीहरूको विवरण संकलन गर्ने काम भइरहेको दूतावासले जनाएको छ । इजरायलमा अहिले करिब दुई हजार नेपाली कृषि क्षेत्रमा कार्यरत रहेको बताइएको छ ।

यसैबीच भारतीय सञ्चार माध्यमका अनुसार हमासको लडाकु समूहले १७ जना नेपालीलाई बन्धक बनाएको छ । तर, इजरायलस्थित नेपाली दूतावासले यसको पुष्टि गरेको छैन ।

यता, नेपालमा उक्त घटनापछि परराष्ट्र मन्त्री एनपी साउदले उच्च अधिकारीसँग बैठक गर्दै इजरायलमा रहेका नेपाली सुरक्षाको बारेमा छलफल गरेको मन्त्रालयले जानकारी दिएको छ ।

हमासले इजरायली भूमिमा रकेटबाट आक्रमण गरेपछि इजरायली सरकारले युद्धको घोषणा गरेको छ । अहिले दुवैतर्फ गोलावारुद हानाहानको अवस्था रहेको छ । यो समाचार तयार पार्दासम्म ४० जनाभन्दा बढी इजरायली नागरिक मारिएको दाबी गरिएको छ । उक्त आक्रमणमा परी दुवै पक्षका १ हजारभन्दा बढी मानिस घाइते भएको पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।