काठमाडौं । आज अन्तर्राष्ट्रिय खुसी दिवस मनाइदै छ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २०१३ देखि हरेक मार्च २० तारिखका दिन यो दिवस मनाउने गरिएको छ । नेपालमा भने सन् २०१६ देखि यो दिवस मनाउन थालिएको हो ।

यसवर्ष ‘ह्याप्पिनेस फर अल टुगेदर’ अर्थात् सबैका लागि खुसी, सँगै भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । खुसी आफैभित्र छ, तर मानिसले यसलाई बुझ्न सकिरहेको छैन भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।

खुसीको महत्त्वलाई पहिचान गर्नका लागि दिवस मनाउन थालिएको हो । सन् २०१५ मा संयुक्त राष्ट्र सङ्घले १७ वटा दिगो विकास लक्ष्य घोषणा गरेर गरिबी अन्त्य गर्न, असमानता घटाउन तथा पृथ्वीको रक्षा गर्न प्रयत्न गरेको थियो । यी तीनै प्रयासले नै संसारमा खुसी छाउने संयुक्त राष्ट्र सङ्घको विश्वास छ ।

राष्ट्र सङ्घको दिगो विकास समाधान नेटवर्कले अस्ति सार्वजनिक गरेको विश्व खुसी प्रतिवेदनले दक्षिण एसियाली देशमा नेपाल सबैभन्दा खुसी देश भएको देखाएको छ । प्रतिवेदनका अनुसार यो वर्ष नेपाल ५ दशमलव ३७७ अङ्कसहित सूचीको ८४औँ स्थानमा छ ।