काठमाडौँ । विश्वमै दुर्लभ मानिएका वनस्पति, जडीबुटी र वन्यजन्तुको अवैध ओसारपसार तथा तस्करीका घटनामा ६० प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय सङ्गठित आपराधिक समूहको संलग्नता देखिएको छ । ती समूहले अवैध ओसारपसार र कारोबार गर्दा दैनिकजसो कानुन कार्यान्वयन गर्ने निकायको आँखा छल्दै नयाँ प्रविधि र फरक बाटो प्रयोग गर्ने गरेको तथ्य पनि सार्वजनिक भएको छ ।

वन्यजन्तु र वनस्पतिको लोपोन्मुख प्रजातिमा अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि ९साइटिस० को कार्यालयका अनुसार सन् २०२३ को नोभेम्बरसम्ममा इन्टरपोल र विश्व भन्सार सङ्गठनले अवैध कारोबारमा संलग्न भएका पाँच सयभन्दा बढी व्यक्ति पक्राउ गरेको छ । साइटिस महासविच इभोन हिगुएरोले यो तथ्याङ्कलाई निकै डरलाग्दो अवस्था भएको टिप्पणी गरे । वन्यजन्तु अपराध अनुन्धानमा संलग्न उनले अन्तर्राष्ट्रिय आपराधिक जालोलाई कमजोर पार्न सकिएन भने हाल यस पृथ्वीमा बाँच्न सफल दुर्लभ वन्यजन्तु र वनस्पति लोप भएर जाने सम्भावना रहेको बताए । 

उनले विश्वव्यापी यो अपराधलाई जित्न पक्ष राष्ट्रहरूबिच थप समन्वय र सहयोगका लागि विश्व समुदायलाई आग्रह पनि गरे । महासचिव हिगुएरोले नक्कली कागज र प्रमाण बनाएर, अनुमति पत्रहरू किर्ते गरेर, ओसारपसारको अनुमतिपत्रमा उल्लेख भएभन्दा फरक वस्तु ओसारपसार गर्ने गरेकाले सीमा नाका तथा भन्सार कर्मचारीलाई प्रशिक्षण हुनुपर्नेमा जोड दिए । नेपाल साइटिसको पक्ष राष्ट्र हो ।

साइटिस कार्यालयले दिएको जानकारी अनुसार बरामद भएका मध्ये तीन सय किलोग्रामभन्दा बढी हात्तीका दाँत मात्र छन् । ३० टन वनस्पतिको जरा, डाँठ, पात, फूल तथा फल छन् भने एक सय टनभन्दा बढी कछुवाका अन्डा पनि  छन् । सयभन्दा बढी गैँडाको सिङ, बाघका छाला पक्राउ परेका छन् । जफत गरिएका मध्ये दुर्लभ चराका अङ्ग, अजिङ्गरका दाँत, बिरालो प्रजातिका वन्यजन्तुका छाला र पित्त, समुद्री प्रजातिका माछाका अन्डा पनि छन् । विभिन्न स्थानमा पक्राउ परेका ४४० पानी जहाजले बोक्न सक्ने साइटिसको अनुसूचीमा परेका रक्तचन्दन जस्ता काठ पनि छन् । यो खबर आजको गोरखापत्र दैनिकमा  छ ।