काठमाडौं । नेपालबाट विदेशी मुलुकमा हुँदै आएको निर्यात निरन्तर खुम्चिँदै आइरहेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपालबाट विदेशी मुलुकमा हुने निर्यात ६३ अर्ब २० करोड रूपैयाँमा सीमित भएको छ । जबकि गत आर्थिक वर्षको पाँच महिनामा नेपालबाट विदेशमा ६७ अर्ब ३० करोड रूपैयाँको सामान निर्यात भएको थियो ।

गत आर्थिक वर्षको तुलनामा चालु आवको पाँच महिनाको निर्यात ६.०९ प्रतिशतले घटेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा १३ अर्ब ५२ करोड रूपैयाँको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो ।

त्यसैगरी चालु आवको दोस्रो महिना अर्थात् भदौमा निर्यात बढेर २६ अर्ब ४४ करोड रूपैयाँ पुग्यो । असोजमा निर्यात बढेर ४० अर्ब ८७ करोड रूपैयाँ पुग्यो ।

त्यसैगरी कात्तिकमा पनि निर्यात बढेर ५० अर्ब ५६ करोड रूपैयाँ पुगेको थियो । मंसिरमा भने निर्यात बढेर ६३ अर्ब २० करोड पुगेको छ । यो समाचार नागरिक दैनिकमा छ ।