विराटनगर । सभामुखविहीन रहेको कोशी प्रदेशसभाले आजै सभामुख पाउने भएको छ । आज (मंगलबार) बसेको प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठलके आजै सभामुखको निर्वाचन गर्नेगरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको छ ।

कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारका अनुसार आज ३ बजे सभामुखको निर्वाचन गर्नेगरी कार्यसूची प्रकाशित गर्ने निर्णय भएको हो । सभामुख चयन गर्न सत्तारूढ र प्रमुख प्रतिपक्षी दलको बैठक आज बिहानैदेखि चलिरहेको छ ।

गत साउन १६ तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएर कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सघाएयता कोशीमा सभामुख पद रिक्त छ । गत वर्षको पुस २८ गते निर्विरोध निर्वाचित सभामुख गौतमले राजीनामा दिँदै आर्थिक मामिला तथा योजना मन्त्रालय रोजेका थिए ।

सत्तारूढ गठबन्धनको सहमतिअनुसार सभामुख राप्रपाले पाउनेछ । नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा (कीकृत समाजवादी) र जसपा राप्रपालाई सभामुख दिन तयार देखिएका हुन् ।

राप्रपाले आफ्ना सांसद अम्बरबहादुर विष्टको नाममा सहमति जनाइसकेको छ ।