विराटनगर । केही दिनयता बाक्लो हुस्सुका कारण विराटनगर विमानस्थलबाट हुने उडानहरू प्रभावित बनेका छन् । काठमाडौंबाट आउने, यताबाट फर्कने र पहाडी जिल्ला जाने उडानहरू हुन सकेका छैनन् ।

प्रतिकूल मौसमका कारण हिजो पनि उडान प्रभावित भएको थियो ।  आज (बिहीबार) पनि बिहानका उडानहरू भएका छैनन् । मौसम तत्काल खुल्ने संकेत नदेखिएकाले आज दिनभर उडान हुने वा नहुने बारे टुंगो नभएको विराटनगर विमानस्थलले जनाएको छ । 

हिजोका अरू सबै उडान रद्द भएका थिए । उडान र अवतरणका लागि १ हजार ६ सय मिटर भिजिबिलिटी र २ हजार मिटर सिलिङ चाहिनेमा बुधबार भिजिबिलिटी एक हजार मिटर मात्र पुगेको थियो ।

विराटनगरबाट हुने ताप्लेजुङलगायत गन्तव्यका उडान भने प्रतिकूल मौसमका कारण नियमित रूपमा केही समयका लागि बन्द गर्ने विमानस्थलले निर्णय गरेको  छ ।