धरान । सङ्घीय बजेट, योजना र कार्यक्रमको लागि गरिएको मूल्यांकनमा धरान उपमहानगरपालिकाले ‘सहकार्य’ मा शुन्य अंक पाएको थियो । तर उपमहानगरपालिकाले न्यायिक कार्यसम्पादनमा भने १०० अङ्क प्राप्त गरेको छ ।

धरानका मेयर हर्क साम्पाङको कार्यशैलीको कारण सहकार्यमा धरानले कुनै अंक नपाएको हो । धरानले न त आन्तरिक सहकार्य गर्न सक्यो, न त अन्तरपालिका सम्बन्ध नै राम्रो बनाउन सक्यो । त्यससँग सम्बन्धित कागजातको अभावमा धरानले लज्जास्पद अंक पायो । तर उपमेयर अइन्द्रबिक्रम बेघा नेतृत्वको न्यायिक कार्यसम्पादनमा धरानले शतप्रतिशत अंक पाएको छ ।

त्यससँगै कार्यविधिमा व्यवस्था भएको जम्मा १० वटा विषय क्षेत्रगत सूचकहरूको आधारमा मूल्याङ्कन गर्दा धरानले ७१ दशमलव ५ प्रतिशत अङ्क प्राप्त गरेको छ । उपमहानगरका कर्मचारीद्वारा गरिने अधिकांश कार्यसम्पादनमा सन्तोषजनक अङ्क प्राप्त भएको छ ।