इटहरी / कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले सूचना प्रविधि मार्फत दक्ष युवा जनशक्तिलाई स्वदेशमै रोजगार सृजना गर्न सकिने बताएका छन् । बिहीबार इटहरीमा कम्प्युटर एसोसिएसन नेपाल (क्यान) सुनसरीले आयोजना गरेको क्यान इन्फोटेक २०२४ कार्यक्रमको उद्घाटन समारोहलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै मन्त्री आचार्यले सूचना प्रविधिको माध्यमबाट दक्ष युवा जनशक्तिलाई स्वदेशमै रोजगार सृजना गर्न सकिने बताएका हुन ।

सूचना प्रविधिको क्षेत्रले चमत्कारिक विकास गदै आज मानवीय विकास र भौतिक विकासमा ठुलो सफलता र उपलब्धि हासिल गर्न सकेको बताउँदै यसको प्रयोगले स्वदेशमै दक्ष युवाहरूलाई स्वरोजगार बनाउन सकिने कार्कीको भनाइ रहेको थियो ।  सरकारले पनि सूचना प्रविधिलाई विशेष महत्त्व दिएर आवश्यक ऐन र कानुनहरूलाई अगाडी बढाइरहेको मन्त्री कार्कीले बताएका छन् । कार्कीले सूचना प्रविधिको उचित विकासले मात्र देशलाई समृद्धि तर्फ लान सकिने बताएका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै क्यानका केन्द्रीय अध्यक्ष रन्जीत कुमार पोदारले क्यान सरकारसँग सहकार्य गर्दै देशै भरि प्रविधिको क्षेत्रमा योगदान गर्न तयार रहेको बताएका थिए । उनले सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्तिको अभावमा सरकारले आवश्यक कदम चाल्न ढिला गरेको भन्दै क्यानसँग सहकार्य गर्न समेत सरकारलाई आग्रह गरेका थिए । 

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) सुनसरीले इटहरीको जनता माविको खेल मैदानमा आज देखि (फागुन १० गते देखि १४ गते सम्म) पाँच दिन  सम्म रहने गरी विदेशी साथै नेपाली उत्पादनलाई समेत प्राथमिकता दिएर प्रदर्शन तथा बिक्रिवितरण सुरु गरेको छ । उक्त प्रदर्शनीमा ५० भन्दा बढी स्टलहरू रहेको कार्यक्रममा अध्यक्ष सन्देश राईले जानकारी दिएका थिए । उक्त प्रदर्शनीमा सर्वसाधारणलाई प्रवेश सुल्क  रु ५० राखिएको छ भने विद्यार्थीहरूले रु २५ सुल्क तिरेर प्रवेश गर्न पाउने छन् ।

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरूको छाता संगठन क्यानले नेपालका विभिन्न स्थानमा इन्फोटेक आयोजना गर्ने गरेको छ । जसमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा प्रयोगमा रहेका सामाग्री तथा सेवाहरूको प्रदर्शनी र बिक्री वितरण गर्ने गरेको छ । 

इन्फोटेकमा सूचना प्रविधिसम्बन्धी जानकारी लिनका साथै विभिन्न सामाग्री, उपकरणहरू सुपथ मूल्यमा किन्न सकिने जनाइएको छ । इन्फोटेकमा नेपाली सफ्टवेयर कम्पनीद्वारा उत्पादन गरिएका सफ्टवेयर, स्टार्टअप तथा स्वदेशी प्रविधिलाई प्रवर्द्धन गर्नका लागि छुट्टै सफ्टवेयर प्याभिलोन निर्माण गरेको जनाइएको छ । साथै उक्त प्रदर्शनीमा सूचना प्रविधि र सफ्टवेयरको क्षेत्रमा विद्यार्थीहरूले जानकारी लिन सक्ने अध्यक्ष राईले जानकारी दिएका छन् ।