इटहरी । बिजय मल्लद्वारा लिखित बहुचर्चित नाटक ‘बहुला काजिको सपना’ इटहरीमा प्रदर्शन गरिने भएको छ । 

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन  अनेरास्ववियू सुनसरीको आयोजनामा नाटक प्रर्दशन गर्न लागिएको हो । 

‘क्याम्पस थियटर सिजन १’ अन्तरगत फागुन १९ गते देखी ३० गते सम्म नाटक प्रर्दशन गर्ने अनेरास्ववियु सुनसरीका अध्यक्ष अतितकिरण नेपालले जानकारी दिए । 

इटहरीको जनता बहुमुखी क्याम्पसका विद्यार्थीहरुको निर्देशन, अभिनयमा नाटक प्रर्दशन हुने अध्यक्ष नेपालले जानकारी दिए । नाटक इटहरी ६ स्थित तायारिप्ची भवनको हलमा प्रर्दशन हुनेछ । 

इटहरीमा नाटक गर्दै आएको कलालयले अनेरास्ववियुसँगको संयोजनमा जनता क्याम्पसका विद्यार्थीहरुलाई करिव २ महिना नाटकको प्रशिक्षण दिएको थियो । 

कलालयको प्रशिक्षणमा विद्यार्थीहरुकै निर्देशन तथा अभिनयमा नाटक तयार गरिएको हो । नाटकको निर्देशन विद्यार्थी रोशन आचार्यले गरेका हुन् ।

११ दिनसम्म सञ्चालन हुने नाटक हेर्नका लागि टिकट मूल्य तीन सय, पाँच सय र एक हजार रुपैयाँ रहेको छ भने विद्यार्थीहरूलाई ५० प्रतिशत छुटको व्यवस्था रहेको बताइएको छ ।

नाटकको औपचारिक उद्घाटन फागुन १९ गते दिउँसो साढे १ बजे नेकपा समाजवादी पार्टीका महासचिव घनश्याम भुषालले गर्ने जनाईएको छ । 

केही महिना अघि नेकपा (एकीकृत समाजवादी) निकट कर्मचारी संगठनले पनि कलालयसँगको सहकार्यमा वी पी कोईरालाद्धारा लिखित नाटक ‘शत्रु’ प्रदर्शन गरेको थियो । नाटकलाई दर्शकले एकदमै रुचाएका थिए ।