इटहरी / इटहरी स्थित बुढी जमुना मुक्तीघाटमा  विद्युतीय दाहसंस्कार स्थल बन्ने भएको छ । कोशी प्रदेशमै पहिलो पटक इटहरीमा इलेक्ट्रिक दाहसंस्कार स्थल बन्न लागेको हो ।

इटहरी उपमहानगर र कोशी प्रदेश सरकारको साझेदारीमा इटहरीमा अत्याधुनिक विद्युतिय शवदाह निर्माण हुने पक्का भएको छ । यहि आर्थिक बर्षमा काम सकिने गरि काम अगाडि बढाईने भएको छ । 

बिहिबार कोशी प्रदेशका वन,पर्यटन तथा वातावरण मन्त्री गणेश प्रसाद उप्रेती इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलको उपस्थितमा इटहरी-४ मा रहेको बुढीजमुना मुक्तिघाट इटहरीको किनारमा यसै आर्थिक बर्षमा निर्माण सम्पन्न गर्ने विषयमा निर्णय भएको हो । 

 दाउरा विपन्न तथा गरिवहरुलाई महङ्गो पर्ने र समय पनि धेरै लाग्ने भए पछि इलेक्ट्रिक दाहसंस्कार स्थल बनाउन लागेको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । दाउराले जलाउँदा दुई तीन घण्टा लाग्ने भए पनि यसमा भने दाहसंस्कार सुरु गरेको ४५ देखि ६० मिनेटसम्ममा लाश जलिसक्नेछ ।

इटहरीमा सुविधा सम्पन्न विद्युतिय शवदाह निर्माण गर्न इटहरीका मेयर हेमकर्ण पौडेलले पटकपटक प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गर्दै आएका थिए ।इटहरी उपमहानगरले घर देखि घाट सम्म स्थानीय सरकार भन्ने नारालाई  सफल बनाउन विद्युतीय शबदाह कोषेढुङ्गा साबित हुने र इटहरीको एउटा आवश्यकता पूरा हुने दाबी मेयर पौडेलको छ । 

कोशी प्रदेशमै पहिलो पटक इटहरी उपमहानगर र प्रदेश सरकारको संयुक्त लगानीमा विद्युतीय शवदाह निर्माण गरि सोको सञ्चालन तथा  व्यवस्थापन इटहरी उपमहानगरले नै गर्ने जानकारी समेत मेयर पौडेलले दिए । ।अहिले इटहरीको बुढी जमुना मुक्त्ती घाटमा सरदर ५ वटा शवको दाहसंस्कार हुने गरेको छ ।

करिब ३ करोड ५० लाखको लागतमा बन्ने छ ।  कोशी प्रदेश सरकारले ७० प्रतिशत र इटहरी उपमहानगरले ३० प्रतिशत लगानी गर्ने समझदारी भएको र तत्काल विद्युतिय शवदाह निर्माण शुरु गर्नेगरी दुवै सरकारको संयन्त्र सम्मीलित प्राविधिक समिती समेत गठन गरिएको छ ।