इटहरी / नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष जीपी मैनालीले गणतन्त्रको विरोध गर्ने ज्ञानेन्द्र साहीहरू स्कुल  बसलाई बन्दुक तेर्साउनेहरूका  पक्षमा रहेको बताएका छन् ।

शुक्रवार अखिल क्रान्तिकारी केन्द्रीय प्राविधिक क्याम्पस समिति धरानले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमलाई सम्बोधन गर्दै गणतन्त्रका विरोध गर्दै साही जस्ताले राजतन्त्रको वकालत गर्दै स्कुल बसलाई बन्दुक तेर्साउने पूर्व युवराज पारस साह जस्तालाई समर्थन गरेको बताएका हुन ।

मैनालीले वर्तमान व्यवस्थाको उपयोग गरेर ज्ञानेन्द्र साही जस्ताले जनप्रतिनिधिको हैसियत बनाउन सके पनि उनिहरुलेनै त्यही व्यवस्थाको विरोध गर्दै राजतन्त्रको पक्षमा लाग्दै हिँड्नु गलत रहेको बताएका छन् । उनले केही दिन अगाडी पूर्व युवराज पारस साहले एक स्कुल बसलाई बन्दुक तेर्साएको घटनालाई जोडेर साहीलाई कटाक्ष गर्दै त्यसको विरोध गर्नुको साटो उल्टै साही जस्ताले समर्थन गर्दै राजतन्त्रको वकालत गरिरहेको बताएका थिए । 

अखिल क्रान्तिकारी केन्द्रीय प्राविधिक क्याम्पस धरानले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा १६० जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए । स्वास्थ्य शिविरमा शरीरको मोटोपना, आँखा र रगत जाँचको सेवा उपलब्ध रहेको कार्यक्रमका सभापति आसिक थापाले जानकारी दिएका छन् । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य मुक्सामहाङ मेन्याङबो लगायतको आतिथ्यता रहेको थियो ।