काठमाडौँ\अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले  माओवादी दलको जन्म नभएको भए काठमाडौँमा  लोडसेडिङको अन्त्य नहुने बताएका छन्  ।
मैनालीले शुक्रवार ह्वाइटहाउस इन्जिनियरिङ कलेजमा आयोजित हाजिर जवाफ प्रतियोगिता कार्यक्रममा माओवादीको सरकारले लोडसेडिङको  अन्त्य गरेको स्मरण गराउँदै माओवादी नभएको भए आज पनि काठमाडौँ टुकी बालेर रात काटिएको हुने दाबी गरेका थिए ।

तत्कालीन प्रचण्ड नेतृत्वको सरकारका ऊर्जा मन्त्री जनार्दन शर्माको पहलमा मुलुकबाट अँध्यारोको बिदाइ गरिएको मैनालीको भनाई थियो । फरक  सन्दर्भमा  मैनालीले  इन्जिनियरहरू देशको मूल नीति बनाउने ठाउँमा हुनुपर्नेमा जोड दिए । उनले संसारभर इन्जिनियरिङ पृष्ठभूमिका व्यक्ति सक्रिय राजनीतिमा रहेको पनि सुनाए । 

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने "इन्जिनियरिङ यस्तो विधा हो, जसले मानिसका हरेक कल्पनालाई व्यवहारिकरुप दिन्छ, दिँदै आएको छ । साथै हरकोही इन्जिनियरले आफ्नो क्षेत्रमा सकेसम्म राम्रो गर्छ नै र गरिरहेको हुन्छ । यो उसको पेसागत काम हो । यसबाहेक इन्जिनियर देशको मूल नीति बनाउने ठाउँमा पनि हुनुपर्छ । त्यो भनेको राजनीति हो" आफैसमेत इन्जिनियर रहेका उपाध्यक्ष मैनालीले पूर्व प्रधानमन्त्री भट्टराई र  काठमाडौँका वर्तमान मेयर बालेन शाहको उदाहरण दिँदै बालेनले अध्ययन गरेको कलेजमा  पुगेका मैनालीले   ‘इन्जिनियरिङ क्षेत्रले विकास र परिवर्तनको राजनीतिमा लाग्न पर्ने धारणा राखेका थिए ।

इन्जिनियरिङ आविष्कार र निर्माणको   विज्ञान हो । त्यसैले तपाईँ–हामीले गर्ने राजनीति चाहिँ प्रगतिशील हुनुपर्छ । समाजलाई अग्रगामी बाटोमा लैजाने खालको हुनुपर्छ । तपाईँहरू पूर्व प्रधानमन्त्री  भट्टराई र काठमाडौँका मेयर बालेन शाहलाई पनि हेर्न सक्नुहुन्छ ’ मैनालीले भने ।


परम्परागत सोच भएकाहरूले जे–जस्तो व्याख्या गरे पनि दलित, महिला, उपेक्षित समुदायलाई मूल प्रभावमा ल्याउन भूमिका खेलेको माओवादी नै अहिलेको प्रगतिशील विचार बोकेको दल रहेको उपाध्यक्ष मैनालीको भनाई थियो । उनले काठमाडौँको सडक विस्तार गर्ने, देशलाई लोडसेडिङमुक्त पार्ने र देशभर सामाजिक जागरण गर्ने दलमा इन्जिनियरहरू जोडिनुपर्नेमा जोड दिए ।


‘इन्जिनियर भएर जागिर खाने वा विदेश जाने सजिलो काम हो । तर, देश बनेन भनेर गुनासो गरेर मात्र हुँदैन । त्यसैले तपाईँ–हामी देशको कानुन बनाउने र देशलाई चलाउने ठाउँ सिंहदरबार पुग्नुपर्छ’, उनले भने, ‘देशलाई सही कानुन र शासन व्यवस्था दिन सकियो भने एउटा इन्जिनियरले ठुलो भूमिका खेल्न सक्छ मैनालीको भनाइ थियो ।