पोखरा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादी पहिलो नम्बरको पार्टी बन्ने सम्भावना रहेको बताएका छन् ।

उनले आज (आइतबार) पोखरामा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादीलाई पहिलो नम्बरको पार्टी बनाउने गरी परिचालित हुन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन्।

२०७९ चुनावी वर्ष भएको बताउँदै दाहालले भने, “देशभरिको सबै स्थिति हेर्दा आगामी चुनावबाट हामी पहिलो पार्टी बन्ने सम्‍भावनातिर अगाडि बढिसकेका छौं।अब एक महीनाभित्र अरू सबै पार्टी माओवादीसँग तालमेल गर्न आउनुपर्छ, हामी जाने होइन। किनभने, देशको परिवर्तनको वाहक हामी हौं।”

उनले पछिल्लो समय माओवादी प्रवेश गर्नेहरुको लहर सुरु भएको भन्दै चुनावमा माओवादी पहिलो पार्टी बन्ने सम्भावना रहेको दावी गरे ।
उनले अहिलेको प्राथमिकता भनेको यो गठबन्धनलाई नै लिएर जाने रहेको भन्दै राजनीतिमा असम्भव भने केही नभएको बताए ।