विराटनगर । चौतर्फी आलोचना एवं दबाबपछि कोशी प्रदेशको खेलकुद विकास बोर्डले विश्वकप छनोटमा नेपाललाई पुर्‍याउन महत्त्वपूर्ण योगदान दिने विराटनगरका क्रिकेटरद्वय ललित राजवंशी र दीपेश कँडेललाई जनही १ लाख ११ हजार १ सय ११ रुपैयाँले सम्मान गर्ने निर्णय गरेको छ ।

बोर्डका सदस्यसचिव हंशराज वाग्लेका अनुसार क्रिकेटरद्वयसहित विश्व विजेता अल्ट्रा धाविका खोटाङकी प्रिया राईलाई पनि एक लाख नगदसहित सम्मान गर्ने निर्णय गरिएको हो । ललित र दीपेशलाई प्रोत्साहनस्वरुप जनही एक लाखसहित आफूहरूले पनि सम्मान गर्ने विराटनगर महानगर प्रमुख नागेश कोइरालाले बताए ।

उत्कृष्ट प्रदर्शन गरेर छनोट गरेलगत्तै आफ्ना गाउँठाउँका राष्ट्रिय क्रिकेट खेलाडीलाई अन्य प्रदेश सरकार एवं स्थानीय तहले नगद पुरस्कारको घोषणा गरेको थियो । कोशी प्रदेश सरकार एवं विराटनगर महानगरले यतातिर चासो नराखेपछि नागरिकस्तरबाट सर्वत्र कडा टीकाटिप्पणी भएको थियो । त्यसपछि फरक ढंगले सम्मान गर्न नसके पनि अन्यत्रकै नक्कल गर्दै उक्त बोर्ड र महानगरले प्रोत्साहन पुरस्कार घोषणा गरेको हो ।