इटहरी । कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले शनिवार आयोजना गरेको विराट राजाको दरबार, विराटनगर देखि बर्जू ताल सम्मको म्याराथन प्रतियोगितामा नरेन्द्र सिंह रावत प्रथम भएका छन् ।

विराट राजाको दरबार देखि बर्जू ताल सम्म २३ किलोमिटरको दुरी  १ घण्टा १७ मिनेट २८ सेकेन्डमा दौडेर पार गर्दै रावत पहिलो भएका हुन ।

म्याराथनमा १ घण्टा १८ मिनेटमा दुरी पार गर्दै  सुशील कुमार साही दोस्रो भएका छन् भने १ घण्टा १८ मिनेट ३३ सेकेन्डमा दुरी पार गर्दै  मोहन देव जोशी  तेस्रो भएका छन् । क्रमशः चौथो,पाचौं र छैटौँ हुनेमा होमलाल श्रेष्ठ, श्रीकास राई र किरण बोगटी रहेका छन् । प्रतियोगितामा ७३ जना खेलाडीले सहभागिता जनाएका थिए ।

खेलकुद पर्यटन प्रवर्द्धन, विराट - बर्जू हाफ म्याराथन  मुख्य नारा राखेर आयोजना गरिएको म्याराथन प्रतियोगितामा पहिलो हुनेलाई रु एक लाख, दोस्रो हुनेलाई रू ७५ हजार , तेस्रो हुनेलाई रु ५० हजार चौथो, पाचौं र छैटौँ हुनेलाई सान्त्वना स्वरूप रु १५ हजार पुरस्कार राशि वितरण गरिएको थियो ।

महिला तर्फ भने ५ किलोमिटरको म्याराथन आयोजना गरिएको थियो ।  महिला तर्फ १९ मिनेट ४ सेकेन्डमा ५ किलोमिटर दुरी पार गरेर रेखा विष्ट प्रथम भएकी छिन । सीमा थारु चौधरी दोस्रो, विर्सना कुमाल तेस्रो र अन्सु मण्डल चौथो भएकी छिन । महिला विजेतामा पहिलो हुनेले २५ हजार दोस्रो हुनेले २० हजार तेस्रो हुनेले १५ हजार र चौथो हुनेले सान्त्वना स्वरुप रू १० हजार पुरस्कार राशि प्राप्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले समापन समारोहलाई सम्बोधन गर्दै पाँच हजार वर्ष पुरानो इतिहास बोकेको विराट राजाको दरबार र पर्यटकीय क्षेत्र बर्जू ताललाई प्रवर्द्धन गर्ने उद्देश्यले  प्रतियोगिता आयोजना गरेको बताएका थिए । प्रतियोगितामा खेलाडीहरूको उल्लेखनीय सहभागिता भएको भन्दै आगामी दिनमा पनि खेलकुदमा जोड दिने उनको भनाई थियो । बर्जू तालको प्रवर्द्धन गर्न र विराट राजाको दरबारलाई थप पर्यटक आकर्षक गर्ने स्थलको रूपमा विकसित गर्न संघीय सरकारसँग पहल भएको र आफू पनि लागि परेको आचार्यले बताएका थिए  ।


20230520_101727

20230520_101201