काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पूर्वउपाध्यक्ष वामदेव गौतम एमालेमै फर्किने भएका छन् । राष्ट्रिय सभाका सदस्य गौतम एमालेबाट राजीनामा गरी विभाजित कम्युनिस्ट पार्टीहरूलाई एकीकरण गर्ने अभियान चलाउँदै आएका छन् ।

एमालेबाटै विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा प्रवेशका लागि छलफल गरिसकेका गौतम अन्ततः एमालेमै फर्किने भएका हुन् ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भई एमाले र माओवादी केन्द्र हुँदै पछि एकीकृत समाजवादीको गठन भए पनि गौतम भने कुनै पार्टीमा पनि संलग्न थिएनन् । विभाजित कम्युनिस्ट पार्टीहरूलाई एकीकरण गर्ने भन्दै उनले नेकपा एकता अभियान नै गठन गरे । 

एमालेले अहिले पार्टीमा रहेको ‘७० वर्षे उमेर हद’ निष्कृय पार्ने निर्णय सार्वजनिक भएसँगै गौतम एमालेमा फर्किन तयार भएका हुन् ।  ‘वामदेव गौतम एमालेमा अध्यक्ष हुन जाने होइन, महासचिव हुन जाने होइन,’ गौतमले भने, ‘पार्टीमा योगदान दिन जाने हो ।’

यसअघि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्दै पार्टीमा रहेको उमेर हदम्याद हटाउनुपर्ने माग गरेका थिए । बुधबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले आफू एमालेमै फर्कन तयार रहेको बताए ।