काठमाडौं । माल्दिभ्समा शुरू भएको फाइभ नेसन्स पुरुष बास्केटबल प्रतियोगितामा भूटानसँग नेपाल पराजित भएको छ ।माल्दिभ्सको मालेमा बुधवार भएको पहिलो खेलमा भूटानले नेपाललाई ६१–५५ ले पराजित गर्दै विजयी भएको हो ।

नेपालले बास्केटबलमा सन् २०१९ मा काठमाडौंमा भएको १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगितापछि पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको हो ।

नेपालले आफ्नो दोस्रो खेल भोलि पाकिस्तानसँग खेल्नेछ । नेपालले लिगको आफ्नो अन्तिम खेल आउँदो आइतवार घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ । प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका ५ राष्ट्रको सहभागिता रहेको छ । यसमा आयोजक माल्दिभ्ससहित नेपाल, बंगलादेश, भूटान र पाकिस्तान छन् ।