काठमाडौं । साविक उपविजेता नेपाल १४ औं संस्करणको साफ च्याम्पियनसिपको समूहचरणबाट बाहिरिएको छ। 

शनिबार राति बैंगलोर स्थित कान्तिरभा स्टेडियममा भएको खेलमा नेपाल भारतसँग २–० गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । नेपाल पराजित भएसँगै भारत र कुवेतले सेमिफाइनलमा स्थान बनाएका छन्।

पहिलो हाफ गोल रहित बराबरी खेलेको नेपाल दोस्रो हाफमा भने भारतसँग गोलखानबाट जोगिन सकेन। भारतको गोलविहीन यात्रा सुनिल क्षेत्रीले तोडेका थिए। सुनिलले करिअरको ९१ औ अन्तराष्ट्रिय गोल पुरा गर्ने क्रममा ६१ औ मिनेटमा टिमका लागि महत्वपूर्ण गोल गरेका थिए।

दोस्रो हाफमा एकपछि अर्को गोल निकालेको भारतका लागि दोस्रो गोलमा पनि सुनिलको सानदार सहयोग रह्यो। उनको प्रहार किरण चेम्जोङले रोक्दै क्रसबारमा लागेर फर्किएको बललाई ७० औं मिनेटमा महेश सिंहले गोल गर्दै टिमलाई २–० को अवस्थामा पुर्याएका थिए। त्यसपछि थप गोल हुन नसक्दा नेपाल २–० ले पराजित भयो।