विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरमा आज(बुधबार) देखि प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता सुरु हुने भएको छ । 

प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा प्रतियोगिता हुने भएको हो । मोरङ जिल्ला सफ्ट टेनिस संघको संयोजनामा शहीद रंगशाला र विराटनगर जुट मिल्सको टेनिस कोर्टमा आगामी १६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने छ । संघका अध्यक्ष श्याम लामाले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए । 

प्रतियोगितामा ५ वटा प्रदेशसहित ३ वटा विभागीय टोलीको सहभागिता रहने जानकारी लामाले दिए । उनका अनुसार कोसी, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै नेपाल पुलिस, सशस्त्र प्रहरी बल (एपिएफ) र आर्मीले भाग लिने पक्का भएको छ । 

प्रतियोगितामा ५ इभेन्ट्सका खेलहरु हुनेछ । पुरुष महिला सिंग्लस, पुरुष महिला डबल्स र मिस डबल्सका इभेन्टमा खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा ८० जना बढी खेलाडीको सभागिता रहने जनाइएको छ । 

प्रतियोगितामा पुरुष महिला सिंगल्सतर्फका विजेताले ३५ हजार, उपविजेताले २५ र तृतीय हुनेले जनही १५-१५ हजार तथा  पुरुष महिला डबल्सतर्फका विजेताले ३० हजार, उपविजेताले २० हजार र तृतीय हुनेले जनही १०–१० हजार एवं मिस डबल्सतर्फका विजेताले ३० हजार, उपविजेताले २० हजार र तृतीय हुनेले जनही १०–१० हजार रूपैयाँ पुरस्कार तथा ट्रफी पाउने छन् ।