काठमाडौँ । मलेसियामा जारी एसीसी यू–१६ इस्र्टन जोन कपको समुह ए को शिर्ष स्थानमा रहँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ । 

नेपाल यसअघि नै पहिलो खेलमा थाइल्याण्डलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । नेपालले समुहको आफ्नो अन्तिम खेलमा घरेलु टोली मलेसियालाई ८४ रनले पराजित गर्दै शिर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । 

नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको मलेसिया ३०.३ ओभरमा ९९ रनमा समेटियो । नेपालको बलर सामु मलेसियाका ब्याट्सम्यान टिक्न सकेनन् । मलेसियाका तीन खेलाडीले दोहोरो अंकको रन बनाउन सके भने तीन खेलाडीले खाता नै खोल्न सकेनन् । 

मलेसियालाई सस्तैमा समेट्न नेपालका अशोक धामीले सर्वाधिक चार, अविशेक तिवारीले तीन, सन्तोष यादवले दुई विकेट लिँदा एक विकेट कृतिक कमातको नाममा रह्यो । 

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाली युवा टिमले ३३.४ ओभरमा सबै विकेट गुमाएर १८३ रन बनायो ।