काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि सुनुवाइका लागि पूर्ण इजलासमा पेसी तोकिएको छ ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिट निवेदनलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो । सोही आदेश अनुसार सोमबार न्यायाधीशहरु सपना प्रधान मल्ल, डा.कुमार चुडाल र नहकुल सुवेदीसहितको पूर्ण इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको हो ।

कोशी प्रदेशसभाका एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङसहितलाई विपक्षी बनाएर भदौ १७ गते रिट निवेदन दर्ता गराएका थिए ।