काठमाडौ । आज होली । पहाडी क्षेत्रमा आज र तराई क्षेत्रमा भोलि धुमधामसँग होली खेलिन्छ । रङ दलेर खेलिने होलीमा रंगको गुणस्तरबारे भने ध्यान दिनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् ।

सकेसम्म प्राकृतिक रङको प्रयोग गर्नुपर्छ । यस्तै गन्ध नभएको रङ चलाउनु राम्रो हुन्छ । टल्किने खालको रङ, कालो रङ र झोलवाला रङले शरीरलाई धेरै नै असर गर्छ।

केही गरी छालामा पहिले नै घाउ भएको छ भने केमिकल प्रयोग गरिएको रंग रगतको माध्यमबाट भित्र छिरेर कलेजो लगायतका अंगलाई नै असर पार्न सक्छ। त्योबाहेक छालामा एलर्जीको समस्या हुन्छ। शरीरभित्र पसे श्वासप्रश्वास, किड्नी, ब्रेन, न्युरोलोजीसम्बन्धी समस्यासमेत देखिन सक्छ।

यस्तै रङ जथाभाबी खेल्दा आँखाको दृष्टि गुम्ने, कानको जाली फुट्ने, एलर्जी, दम, छालासम्बन्धी विभिन्न समस्याले सताउन सक्छन्।

नरिवलको तेल लगाएर रङ खेल्यो भने हानी हुनबाट बच्न सकिन्छ। शरीर र कपालमा तेल लगाउँदा तेलको लेयर बस्छ जसले गर्दा रङ र छालाको बीचमा असर पर्न दिँदैन। यस्तो गर्दा एलर्जी हुनबाट बचाउँछ। त्यस्तै मोस्चराइजर क्रिम लगाए पनि छालामा असर कम गर्छ।

कपडाले शरीर पुरै ढाकेर होली खेलेको राम्रो हो। किनकी जति धेरैभित्र रङ जान्छ त्यति नै असर गर्ने सम्भावना धेरै हुन्छ।कुनै पनि रङको प्रयोग गर्नूपूर्व त्यसको फाइदा, बेफाइदा, महत्व र रंगको प्रतीक बुझ्नु आवश्यक छ।

रातो: अधिकांशलाई मन पर्ने रंग हो( रातो । यसलाई शुद्धता एवं पवित्रताको प्रतीक मानिन्छ। हरेक धार्मिक कार्यमा यसको प्रयोग हुन्छ। स्वच्छ, सफा र चित्त शुद्धिको प्रतीकका रूपमा लिइने यो रंग होलीमा पनि विशेष प्राथमिकताका साथ प्रयोग गरिन्छ। रातो रंगलाई साहस र प्रेमको प्रतीकका रूपमा पनि लिइन्छ। रातो रंग मन पराउने मानिसहरू महत्वाकांक्षीका साथै जिज्ञासु एवं जोसिला हुन्छन्।

हरियो: हरियो रंगलाई प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ। यसलाई जीवनशक्तिको भित्री मर्म बुझ्ने जीवित रंग पनि भनिन्छ। हरियो रंग मन पराउने मानिसहरू प्रकृतिलाई माया गर्ने खालका हुन्छन्। उनीहरू झैझगडा पटक्कै मन पराउँदैनन्। यो रंग मन पराउने मानिसहरूको आत्मविश्वास कम हुने विश्वास गरिन्छ।

पहेंलो: यो रंगलाई भक्ति र धर्म परायणताका रूपमा लिइन्छ। यो रंग मन पराउने मानिसहरू धर्मकर्मप्रति बढी विश्वास गर्छन्। होली हिन्दू धर्मावलम्बीहरूको चाड भएकाले यो रंगको विशेष प्रयोग हुन्छ। कतिपय समुदायमा त रातो र पंहेलो अबिर दलेर होली खेल्ने परम्परा पनि छ। यो रंगको सम्बन्ध खुसी र हर्षसँग पनि छ। मनोविज्ञहरूका अनुसार यो रंग मन पराउने मानिसहरू रमाइलो एवं आत्मीय व्यवहार गर्न उत्साहित हुन्छन्।

नीलो: यो रंगलाई शान्ति र सन्तुलनको प्रतीकका रूपमा लिइन्छ। त्यसैले पनि यो रंगको प्रयोग बढी हुन्छ। यो रंग मन पराउने मानिसहरू सन्तुलित विचारधाराका हुन्छन्। उनीहरू अलि बढी चिन्तित स्वभावका हुने मनोविदहरू बताउँछन्।

कालो: होलीमा कालो रंगको पनि व्यापक प्रयोग हुन्छ। यो रंग ईष्या र स्वार्थसँग सम्बन्धित हुन्छ। यो रंग मन पराउने मानिसहरू आफ्नो इच्छा र भावना खुलस्त रूपमा भन्न चाहँदैनन्। तुरुन्तै रिसाउने खालका हुन्छन्।

सेतो:धेरैलाई मन पर्ने रंग हो सेतो। यो रंगलाई शुद्धताको प्रतीक मानिन्छ। कर्ममा विश्वास राख्ने व्यक्तिहरू सेतो रंग मन पराउँछन्। चहकिलो सेतो रंगलाई सफा एवं आकर्षणको प्रतीकका रूपमा लिइन्छ।