विराटनगर । मोरङको लेटाङमा भएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ ।

प्रदेश नम्बर–१ प्रहरी कार्यालय विराटनगरले घटना छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा समिति गठन गरेको हो ।

घटनाको सबै पक्षको अनुसन्धान गर्ने र दोषी पत्ता लगाउने गरी समितिलाई कार्यादेश दिइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । एसएसपी चौधरी प्रदेश–१ प्रहरी कार्यालय, अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा प्रमुखका रूपमा कार्यरत छन् ।

लेटाङमा छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको घटनापछि गएको आइतबार झडप भएको थियो । आक्रमणमा परी प्रहरीजवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । घटनामा २५ प्रहरी र सात सर्वसाधारण घाइते भएका छन् ।