खोटाङ । कोरोना संक्रमण देखिएपछि भोजपुरको टेम्केमैयु गाउँपालिकाका तीनवटा विद्यालय बन्द गरिएको छ । उक्त पालिकाको वडा नं. ३ अन्नपूर्णस्थित बाघधन रणदीपा राई माध्यमिक विद्यालय, छाङछाहाङ प्रावि र वडा नं. ७ को जनोदय मावि बन्द गरिएको हो ।

बाघधन रणदीपा राई माविका पाँच विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि साउन २७ गतेसम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक डम्बर राईले बताए । २७ गतेसम्म कोरोना संक्रमणको अवस्था हेरेर विद्यालयको पठनपाठन सञ्चालन गर्ने या बन्द लम्ब्याउने भन्नेबारे टुङ्गो लगाइने उनको भनाइ छ ।  
 
उक्त वडाकै छाङछाहाङ प्राविकी एक शिक्षिका र दुई विद्यार्थीमा समेत कोरोना देखिएपछि दुई दिनका लागि विद्यालयको पठनपाठन पूर्ण रुपमा बन्द गरिएको प्रअ लक्ष्मी घिमिरेले बताए । विद्यार्थीको अवस्था हेरेर बिदा लम्ब्याउने वा विद्यालय सञ्चालन गर्ने भन्नेबारे टुङ्गो हुने घिमिरेको भनाइ छ । उक्त विद्यालयमा ज्वरो आउने, टाउको दुख्ने, बान्ता आउनेलगायत लक्षण देखिएका बिरामी बढेको घिमिरेले सुनाए ।

सोही पालिकाकै वडा नं. ७ कोटको जनोदय माविका प्रअसहित १३ जनामा कोरोना देखिएपछि २७ गतेसम्मकै लागि विद्यालय बन्द गरिएको छ । प्रअ अरुण चौधरीका अनुसार आफूसहित दुई शिक्षक र ११ विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द गरिएको हो ।

उक्त पालिकाको वडा नं. ८ गोगनेमा पनि कोरोना संक्रमितको संख्या बढेको छ । बिरामीको संख्या बढेकोपछि परीक्षणको तयारी गरिएको टेम्केमैयु गाउँपालिका शिक्षा शाखा प्रमुख राजन ढकालले बताए ।