इटहरी । दुर्व्यवहार भएको भन्दै विद्यार्थी संगठनहरुले जनता बहुमुखी क्याम्पस इटहरी प्रशासनले हिजो (बुधबार) बोलाएको बैठक बीचैमा छोडेर हिँडेका छन् ।

विद्यार्थी संगठनका प्रतिनिधिहरू र क्याम्पस व्यवस्थापनका सम्पूर्ण सदस्यहरू उपस्थित बैठकमा आफूहरुलाई दुर्व्यवहार गरिएको विद्यार्थी नेता उज्वल सिग्देलले बताए । विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति समेत जारी गर्दै आपत्ति जनाएका छन् ।

जनता क्याम्पसमा कर्मचारी छनोट प्रकृयामा चलखेल भएको भन्दै नेविसंघ बाहेकका अन्य ६ विद्यार्थी संगठनहरुले आन्दोलन थालेका थिए । आन्दोलनकै क्रममा उनीहरुले दुई महिनादेखि क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका छन् । प्रक्रिया खारेज गर्नुपर्ने उनीहरूको माग छ ।

सोही विषयमा क्याम्पसले बोलाएको बैठकमा विद्यार्थीहरू सहभागी भएका थिए । विद्यार्थी प्रतिनिधिले कुरा राखिसकेपछि व्यवस्थापन समिति सदस्य तथा पदपूर्ति संयोजक विकास केसीले म पनि विधार्थी नेता हुँ, ताला फुटाइदिन्छु भनेपछि बैठक भाँडिएको थियो । उनको अभिव्यक्ति गैह्र, हेपाहा तथा अराजक भएको भन्दै आन्दोलनरत विद्यार्थी संगठनका नेताहरु बीचैमा निस्केका थिए ।

आफ्नो मागलाई गम्भीरतापूर्वक नलिएको भन्दै संगठनहरुले विहीबारदेखि आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् । भोलिबाटै श्रंखलाबद्ध आन्दोलनका कार्यहरू थाल्ने र उक्त आन्दोलनबाट हुने क्षतिको सम्पूर्ण जिम्मेवार क्याम्पस प्रशासन स्वयम् लिनुपर्ने उनीहरुले चेतावनी दिएका छन् ।