काठमाडौं । राजस्थानको जालोर जिल्लामा शिक्षकको कुटाइबाट एक दलित विद्यार्थीको मृत्यु भएको छ। 

जिल्लाको सायला थाना क्षेत्रको सुराना गाउँस्थित एक निजी विद्यालय सञ्चालकको भाँडोबाट एक दलित विद्यार्थीले पानी पिएको भन्दै शिक्षकले निर्मम कुटपिट गरेका थिए।शिक्षकको कुटाइबाट गम्भीर घाइते भएका सरस्वती विद्या मन्दिरको कक्षा तीन मा अध्ययनरत इन्द्रकुमारको उपचारकै क्रममा मृत्यु भएको हो । 

 शिक्षकको कुटाइमा परेका इन्द्रकुमारलाई परिवारले पहिले स्थानीय अस्पतालमा भर्ना गरे। त्यहाँ उपचार हुन नसकेपछि उनलाई अहमदाबाद लगिएको थियो। अहमदावादकै एक अस्पतालमा उनको मृत्यु भएको भारतीय सञ्चार माध्यम एनडिटीभीले जनाएको छ।

विद्यार्थीको मृत्युपछि उनका काका किशोर कुमारले विद्यालय सञ्चालक छैल सिंहविरूद्ध कुटपिट, जातीय हिंशा, अपमानित र हत्या गरेको आरोपमा प्रहरीमा उजुरी दिएका छन्।

प्रहरीमा दिएको उजुरी अनुसार साउन ४ गते इन्द्र सधैँझैं विद्यालय गए, तिर्खा लागेकाले विद्यालयमा राखिएको पानीको भाँडोबाट पानी पिए। तर त्यो माटोको भाँडा शिक्षक छैल सिंहका लागि छुट्टै राखिएको रहेछ। यसबारे जानकारी पाएपछि सञ्चालकले बालकलाई जातीय शब्दमा गाली गर्नुका साथै दाहिने कान र आँखामा भित्री चोट लाग्नेगरि निर्मम कुटपिट गरेका थिए। 

घटनाबारे विद्यार्थीले परिवारलाई खबर गरेपछि विभिन्न अस्पतालमा उपचार भए पनि उनको उपचारैकै क्रममा साउन १३ गते मृत्यु भएको थियो।घटनापछि विद्यालय क्षेत्र तनावग्रस्त भएको छ। तनाव उग्र हुँदै गएपछि सरकारको निर्देशनमा उक्त क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको छ।

यसैबीच प्रहरीले उक्त निजी विद्यालयका सञ्चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरू गरिसकेको छ। यस विषयमा छानबिन गर्न एक छानबिन समितिसमेत गठन भएको छ। 

आफ्नो बच्चाले शिक्षकको भाँडोको पानी पिएकोमा जातीय गाली गलौज गर्दै गम्भीर कुटाई खाएर मृत्यु भएकोमा मृतकका बाबुले छानबिन गरी दोषिलाई कारबाही र आफूहरूलाई क्षतिपूर्ति दिलाउन माग गरेका छन्।