काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सी प्लस ल्याउन नसकेका विद्यार्थीले सोही विषयको मात्र ग्रेड बृद्धि परीक्षा दिनुपर्ने भएको छ । 

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले २०७९ सालको ग्रेड बृद्धि परीक्षामा सी प्लस ल्याउन नसकेका विद्यार्थीले सोही विषयमा मात्र ग्रेड वृद्धि परीक्षा दिनु पर्ने बताएको हो ।  

२०७९ को वैशाख ९ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा सी वा सी भन्दा कम ग्रेड प्राप्त गरी २०७९ साल भाद्र ११ र १२ गतेको पूरक (ग्रेडबृद्धि) परीक्षामा सम्मिलित भएका र कम्तिमा सी प्लस ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीले सोही विषयमा मात्र परीक्षा दिन पाउने कार्यालयले प्रष्ट पारेको हो । सोही आधारमा फारम भराउन आग्रह गरेको छ । 

२०७९ सालको एसईई परीक्षामा समावेश हुने विद्यार्थीका लागि आवेदन फाराम खुलेको छ । यही पुस १० गतेभित्र फाराम भरिसक्नु पर्नेछ । यो वर्षको एसईई परीक्षा चैतको दोस्रो हप्तादेखि गर्ने कार्यतालिका बोर्डको छ ।