इटहरी । इटहरीस्थित श्री जनता मावि सुनसरी जिल्लाकै उत्कृष्ट व्यवस्थापन भएको सामुदायिक विद्यालय छनोट भएको छ ।सामाजिक विकास मन्त्रालय प्रदेश नं.१ ले श्री जनता मावि सुनसरीकै उत्कृष्ठ विद्यालयका रुपमा छनोट गरेको हो । योसँगै विद्यालयले प्रदेश सरकारबाट प्रोत्साहनस्वरुप १४ लाख ५० हजार रुपैया पाउनेछ ।

प्रत्येक जिल्लाबाट उत्कृष्ट ब्यवस्थापन भएका १–१ वटा सफल सामुदायिक माध्यमिक विद्यालयलाई छनोट गर्ने क्रममा सुनसरीबाट जनता मावि छनोटमा परेको हो । 

जनता माविलाई २० प्रतिशत सम्म प्रोत्साहन कार्यक्रममा र बाँकी ८० प्रतिशत विद्यालयको प्रस्तावका आधारमा रकम दिने भएको छ । 

यस विद्यालयले पछिल्लो चार वर्षमा काँचुली फेरेको छ । नयाँ व्यवस्थापन समिति आएपछि विद्यालय सुनसरीमै आकर्षणको केन्द्र बनेको छ । विद्यालयको शिक्षण र व्यवस्थापन चुस्त छ भने भौतिक पूर्वाधार निर्माणका कामहरु पनि भइरहेका छन् ।

जनता स्कुलले आउँदो शैक्षिक सत्रदेखि आम सञ्चार, कानून र सिभिल इञ्जिनियरको पढाई सुरु गर्ने तयारी रहेको विद्यालयका प्राधानाध्यापक पशुपती सिग्देलले जानकारी दिएका छन् ।