नवलपरासी । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को परासीस्थित आदर्श माविका छात्राहरु अचानक बेहोस हुन थालेपछि विद्यालयको पठनपाठन बन्द गरिएको छ । आइतबार र सोमबार लगातार विद्यार्थी बेहोस हुने क्रम बढेकाले  दुई दिनका लागि विद्यालय बन्द गरिएको हो । 

विद्यालयका प्रधानाध्यापक दीपक भट्टराई भने  “आइतबार विद्यालयमा प्रार्थनाको समयमा छ छात्रा बेहोस भएका थिए”, उनले भने, “आज विद्यालय सुरु हुन लाग्दा थप दश छात्रा बेहोस भएपछि पृथ्वीचन्द्र अस्पतालमा उपचारका लागि उनीहरुलाई पठाइएको छ ।”

विद्यालयमा कक्षा ६ देखि ९ सम्म अध्ययनरत छात्रामा बेहोस हुने समस्या देखिएको बताए । 

रोग पत्ता नलागेकाले अन्य विद्यार्थीलाई सङ्क्रमण नहोस् भनेर नगरपालिकाको समन्वयमा आज र भोलि विद्यालय बन्द गर्ने निर्णय गरिएको विद्यालयले जनाएको छ ।