मोरङ । मोरङको ग्रामथान गाउँपालिकास्थित एक विद्यालयमा एसईई दिँदै गरेको अवस्थामा नक्कली परीक्षार्थी पक्राउ परेका छन्। आज (बुधबार) बिहान विज्ञान विषयको खुलातर्फको परीक्षा दिने क्रममा नक्कली विद्यार्थी सुस्मिता लिम्बू पक्राउ परेकी हुन्।

सम्बन्धित विद्यार्थी कल्पना लिम्बूको फोटो उप्काएर नक्कली विद्यार्थी लिम्बूले परीक्षा दिँदै आएको खुलेपछि पक्राउ गरिएको मोरङका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख टंकप्रसाद गौतमले बताए ।

अघिल्लो परीक्षामा समेत नक्कली विद्यार्थीले नै परीक्षा दिएको स्विकारेको बताएका गौतमले परीक्षा दिने र विद्यार्थी दुवै जना कारबाहीको भागीदार हुने उल्लेख गरे।

मोरङको ग्रामथान गाउँपालिकास्थित झोराहाटमा रहेको सरस्वती माध्यमिक विद्यालयबाट नक्कली विद्यार्थी लिम्बूलाई परीक्षा दिँदै गर्दा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरैंचाले जनाएको छ।

प्रहरीका अनुसार बूढीगंगा गाउँपालिकास्थित टंकीसिनवरीमा रहेको नरग्राम माध्यमिक विद्यालयकी विद्यार्थी कल्पनाको नाममा २८ वर्षीया सुस्मिताले परीक्षा दिँदै गएको अवस्थामा पक्राउ गरिएको हो।