काठमाडौँ  । २९ भदौबाट प्रदर्शन हुन लागेको झरना थापाद्वारा निर्देशित फिल्म ‘एक भागवत र एक गीता’ (सामाजिक कथा)को मैथिली भाषाको गीत ‘झिँझिँया’ सार्वजनिक गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच सार्वजनिक  गीतमा नेहा प्रियदर्शनी र प्रवेश मलिकको युगल स्वर रहेको छ भने  संगीत गायक मलिकले नै दिएका छन् ।

यो मैथिली समुदायको परम्परागत गीत हो । यसले मैथिली संस्कृति र जीवन बोल्छ । मैथिली समुदायमा दुर्गा पूजाको अवसरमा यो गीतमा नृत्य गर्ने प्रचलन छ । त्यही गीतलाई नयाँ शैलीमा तयार गरेर फिल्ममा समावेश गरिएको निर्माण युनिटले जनाएको छ । 

गीतमा अभिनेत्री सुहाना थापा नृत्य गर्दै प्रस्तुत छिन् भने विपिन कार्कीलाई ‘ट्रान्सजेन्डर’ लुक्समा देख्न सकिन्छ ।फिल्ममा सुहाना र विपिनसँगै धीरज मगर, जेभिस श्रेष्ठ, जेभिन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, राम कैलाश ठाकुर, धीरज ठाकुर, सुरेन्द्र राय, गंगाकान्त झालगायतको पनि अभिनय छ । 

राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको फिल्मको निर्मातामा सुहाना थापा हुन् ।