काठमाडौँ । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’को नयाँ गीत ‘हिजो काम’  सार्वजनिक गरिएको छ । बडादसैँको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको गीतले परदेशीकै कथा बोलेको छ ।

सतिश चापागाईँको शब्द, प्रशान्त तामाङको स्वर रहेको गीतमा बि।बि अनुरागीको सङ्गीत छ । गीतको श्याम श्वेत रसाइलीले मिक्सिङ गरेका हुन् ।गीतको भिडियोमा चलचित्रका शीर्ष कलाकार प्रकाश सपूत र दिलीप रायमाझीसँगै रमा थपलिया लगायतलाई प्रस्तुत गरिएको छ । 

नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको ‘परदेशी–२’मा प्रकाश र दिलीपसँगै प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सबिन बास्तोता, देवेन्द्र बब्लु लगायतको अभिनय छ । चलचित्रले उच्च शिक्षाका लागि बिदेसिने विद्यार्थीहरूको कथा पेस गर्छ । अध्ययनसँगै अन्य परिवेशमा परदेश पुगेकाहरूको कथा–व्यथालाई समेत चलचित्रमा समेटिएको छ ।

 मानकृष्ण महर्जनको छायाङ्कन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।