काठमाडौँ । मौलिक संस्कृतिमा आधारित पालाम गीत ‘मिम्जिमा ए’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले गीत सार्वजनिक गरेका छन् ।

गीतमा गायक भीम लिम्बु र गायिका मनु नेम्वाङले स्वर दिएका छन् । गीतको पच्चीस मिनेट लामो म्युजिक भिडियो बनेको छ । मन्त्री किराँतीले यसले कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने बताए । 

‘उनले सपना देखेर सङ्गीत यात्राको प्रारम्भ गरे । चौरमा बसेर गएको गीत र त्यो यात्रा सङ्घर्ष अहिले पनि मलाई स्मरण छ । मैले राजनीति रोजे र उनले सङ्गीत रोजे’, किराँतीले भने,‘उनको गीतसङ्गीत प्रतिको लगाव अझैँ उस्तै छ । उनको गीत सार्वजनिक समारोहमा यसरी अतिथि बनेर आउन पाउँदा निकै खुसी छु ।’

गीतमा भीम र मनुसँगै कोरसको रूपमा रुकमान लिम्बु, निरन्ता नेम्वाङ्ग, शिव साम्बाहाम्फे, दीपा सुहाङ छन् । गीतको सङ्कलक गायक भीम नै छन् भने यसमा शब्द सुवर्ण नेम्वाङले लेखेका हुन् । गीतमा अशोक लोहरूङ राई एरेञ्जर, राजेश श्रेष्ठ रेकर्डिस्ट रहेका छन् भने किशोर थापाले मिक्सिङ गरेका छन् । 

गीतको सार्वजनिक भिडियोमा रेखा लिम्बु, मोन नाल्बो सुब्बा, विशाल सेनेहाङ, रुकमान लिम्बु, कृष्ण सेनेहाङ,नविन सेनेहाङ, खुसी थुलुङ, शैलेन्द्र नाल्बो लगायतले अभिनय गरेका छन् ।भिडियोमा नृत्य र निर्देशक लोकेन सावाले गरेका हुन् भने यसमा छायाङ्कन युवराज राई, मेकअप सञ्जु थलाङ, सम्पादन अनिल राना र फोली साउन्ड मानसी किरणले गरेका हुन् । 

गायक भीम झन्डै एक दशकको विश्राम पश्चात् पुनः गायनमा सक्रिय  भएका छन् । ‘माया मेरो झुटो रे’, ‘हाते काटेर’, ‘खुल्यो खुल्यो रस खुल्यो’, ‘फेसबुकैले’, ‘धानै नाचिन्छ’ जस्ता गीतमार्फत उनी गायनमा स्थापित भएका हुन् ।